हेटौँडा/बागमती प्रदेशमा फागुन १३ देखि १९ गतेसम्म एक हप्ते दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने भएको छ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस अवधिमा ८ लाख ४९ हजार ३ सय २५ बालबालिकालाई दादुरा-रुबेला खोप लगाइनेछ। प्रदेशका करिब २ हजार ९ सय केन्द्रमार्फत् खोप अभियान सञ्चालन हुनेछ।
बिहीबार सञ्चारकर्मीहरुसँग प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै एक हप्ताको अवधिमा प्रदेशका करिब २ हजार ९ सय केन्द्रमार्फत खोप लगाइने बताएको हो ।
९ महिनादेखि १५ वर्षसम्मकालाई खोप लगाउने कार्यक्रम रहेको ४ वटा जिल्लामा विद्यालय र नियमित केन्द्रमा खोप सेवा दिइने र अन्य जिल्लामा नियमित खोप केन्द्र र थप गरिएका केन्द्रबाट खोप लगाउने निर्देशनालयका निर्देशक दीपकप्रसाद तिवारीले जानकारी दिए ।
चितवन, काठमाडौं, भक्तपुर र ललितपुरका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिइनेछ भने अन्य ९ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई मात्र खोप दिइने भएको छ।
४ जिल्लामा विद्यालय र नियमित केन्द्र मार्फत तथा अन्य जिल्लामा नियमित र थप केन्द्रहरुबाट खोप अभियान सञ्चालन हुनेछ।
बागमतीमा ९ प्रतिशत बालबालिका नियमित खोपबाट बञ्चित रहेका कारण यसपटक दादुरा-रुबेला खोपसँगै नियमित खोपबाट छुटेकालाई पनि खोप दिइने स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन उत्तमराज प्याकुरेलले बताए।
सन् २०२६ सम्म दादुरा-रुबेला रोग निवारण गर्ने नेपाल सरकारको प्रतिबद्धता रहेको बताइएको छ। गत आर्थिक वर्षमा नेपालभर १३५० जनामा दादुरा-रुबेला देखिएको र ७४ प्रतिशत संक्रमित ९ महिनादेखि १५ वर्ष उमेर समूहका रहेको तथ्यांक छ।
दादुरा-रुबेला खोप नलगाउँदा अन्धोपन, कान पाक्ने, न्युमोनिया, कम्पन हुने र मृत्यु समेत हुन सक्ने भएकाले सबै बालबालिकालाई खोप लगाउनुपर्ने स्वास्थ्य निर्देशनालयको भनाइ छ।
दादुरा रुबेला खोप लगाउन छुटेमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्युमोनियमा हुने, इन्सेफ्लाइटिक्स रोग लाग्ने, कम्पन हुने र बालबालिकाको मृत्यु नै हुनसक्ने भएकाले नियमित खोप लगाउनुका साथै छुटेका ५ वर्षमुनिका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य निर्देशनालयको भनाइ छ । अभिमुखीकरण कार्यक्रमम बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजार, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।