हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा डेङ्गुको उच्च जोखिममा रहेको पाइएको छ । वार्षिक रूपमा बढ्दो संक्रमण दरले यो शहर लगातार जोखिममा रहेको देखाएको छ ।
हेटौंडा उपमहानगरपालिकाका अनुसार गत पाँच वर्षमा डेङ्गु संक्रमितको संख्या उल्लेख्य रूपमा बढेको छ । २०७६-७७ मा ३०४ जना संक्रमित भएकोमा २०७९-८० मा यो संख्या बढेर ४,४७२ पुगेको थियो । यस अवधिमा दुई जनाले ज्यान गुमाएका छन् ।
उपमहानगरपालिकाले हरेक वर्ष रोग नियन्त्रणका लागि बजेट छुट्याउँदै आएको छ । २०८०-८१ मा यो रकम ८ लाख रुपैयाँ पुर्याइएको थियो । तर, यी प्रयासहरू अपर्याप्त देखिएका छन् ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको एक सर्वेक्षणले हेटौंडाको वडा नं. ४ सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ । यहाँ एक हजार एक सय ६ जना संक्रमित फेला परेका थिए । सर्वेक्षणमा धेरै घर र सार्वजनिक स्थलहरूमा लामखुट्टेका लार्भा र प्युपा फेला परेको थियो ।
स्वास्थ्य निर्देशनालयकी इन्टमोलोजिस्ट रीता बडुले जोखिमयुक्त क्षेत्रमा तत्काल कदम नचाले महामारीको रूप लिन सक्ने चेतावनी दिनुभएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले तीनै तहका सरकार एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँले भन्नुभयो, “डेङ्गु नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वित प्रयास आवश्यक छ ।”
विशेषज्ञहरूले जनचेतना अभिवृद्धि र वातावरणीय सरसफाइमा जोड दिनुपर्ने सुझाव दिएका छन् । साथै, लामखुट्टे नियन्त्रणका लागि नियमित अनुगमन र छिटो प्रतिक्रिया आवश्यक रहेको बताएका छन् ।