हाम्रो यात्रा बिहानको साढे ५ बजे सबैजना जम्मा भई सुरु भएको थियो। सुरुवातमै उत्साह र उमंगले भरिएको यात्रामा हामी पहिलो बिसौनीका रूपमा लेवाटार पुग्यौँ, जहाँ खाजाको मज्जा लियौँ।
त्यसपछि रसुवा जिल्ला(धुन्चे)तर्फको मार्ग समात्यौं। तर, धुन्चे पुग्न १५ किलोमिटर बाँकी छँदा डा गौडाडा भन्ने स्थानमा हाम्रो इलेक्ट्रिक भ्यान (EV) को चार्ज सकिन थाल्यो। त्यसले हामीलाई अप्ठ्यारोमा पार्यो।
भाग्यवश, एक ट्रक आइरहेको देखेर हामीले त्यो रोकेर सहयात्रा अगाडि बढायौं। ट्रकको यात्रा भने साँच्चिकै अविस्मरणीय रह्यो।

बन्दै गरेका उकाली-ओरालीका बाटा, पहाड फोरेर बनेका मार्गहरू पार गर्दै, हामी धुन्चे पुग्यौं।

धुन्चे पुगेर स्वादिष्ट खाना खाएपछि करिब ५ बजे देउरालीतर्फको यात्रामा निस्क्यौं। त्यो बाटो करिब ५ घण्टा लामो थियो, र उकालो भएकोले निकै थकाई लाग्दो पनि। म भने उकालो चढ्नमा अलि सुस्तै भएकाले लास्ट नै चढ्नेमा परें। देउराली पुगेपछि होटेलमा विश्राम लियौँ। त्यहाँको न्यानो आतिथ्य र स्वादिलो खानाले हाम्रो थकान मेटिएको महसुस भयो।

दोस्रो दिन, ब्रेकफास्टपछि हाम्रो लक्ष्य थियो—लौरी विनायक। देउरालीबाट हिँड्दा प्रकृतिको सौन्दर्य, मनोरम दृश्यहरू, लालीगुराँसका बोटहरू—सबैले मुटु जित्थे।

करिब दुई घण्टामा धिम्सा पुग्दा मलाई उचाइको कारण सास फेर्न गाह्रो हुन थाल्यो। त्यसैले बाँकी यात्रा घोडामा चढेर गरेँ। साथीहरू भने पैदलै आए। लौरी विनायकको डाँडामा चिसो अत्याधिक थियो, बाहिर निस्कन पनि मुस्किल। भित्रको आगोको वरिपरि बस्दै हामीले रात बितायौं। उचाइका कारण सबैलाई अलिअलि स्वासप्रश्वासमा समस्या भयो, र केहीलाई त औषधिको सहारा लिनुपर्यो।

तेस्रो दिन बिहान ५ बजे तयार भई गोसाईकुण्डतर्फको यात्रा सुरु गर्यौं। झन्डै तीन घण्टाको पैदल यात्रापछि, निलो निलो पानीको गोसाईकुण्ड(४३८०मि) ताल हाम्रो सामु उपस्थित भयो।

अग्ला हिमाल, हिमालले ढाकिएका डाँडाहरू, र तालको अपूर्व सौन्दर्य—त्यो दृश्यलाई शब्दमा बयान गर्न सकिन्न। हामीले त्यहाँ स्नान पनि गर्यौं—तीनपटक डुबेर पवित्र जलमा नुहायौं। नुहाएपछि त्यहाँ केही खानेकुरा खायौं र फेरि लौरी विनायक फर्कियौं।
फर्किने यात्रा ओरालो थियो, त्यसैले सहज। बाटोमा रमाइला दृश्य, रमाइलो गफ, र रमाइला फोटोहरूसँग यात्रा अगाडि बढ्यो। चोलाङघाट, चन्दाबारी, हिंसा बारे हुँदै हामी पुनः देउराली आइपुग्यौं। त्यहाँ इजरायली टोलीसँग भेट भयो। उनीहरूसँग फोटो खिच्यौं, रमाइलो गर्यौं, र अनुभव साटासाट गर्यौं।

चौथो दिन बिहानै हामीले ओरालो लाग्यौं। बाटोमा दुई समूहमा बाँडिएर गीत गाउदै रमाइलो गर्दै तल झर्यौं। झरनामा पुगेर फोटो, भिडियो, टिकटक बनायौं।

चिसोपानीमा पनि रमाइलो विश्राम गर्यौं। पुल, खोला, र मिनी गोसाईकुण्ड जस्ता स्थान पार गर्दै अन्ततः हामी हेटौडा फर्कियौं।

पहिलो दिन इवीले समस्या पारेको भए पनि, अन्तिम दिन पनि हामीले त्यही इभी रोज्यौं। बाटोमा दुई पटक चार्ज गर्दै, अन्तमा मनरी ज्यामिरेस्थित नमराज दाईको होटलमा स्वादिलो माछा र ढिडो खाएर हाम्रो यात्रा सम्पन्न भयो।
गोसाईकुण्ड यात्रा केवल एक यात्रा थिएन, त्यो थियो साहस, धैर्यता, सौन्दर्य, र आत्मिक शान्तिको संगम। यत्रो कठिनाइका बाबजुद पनि हामी नौजना साथीहरू सँगसँगै लक्ष्यमा पुग्यौं। यस्तो अद्भुत यात्रामा साथ दिनुहुने सबैलाई मनदेखि धन्यवाद।


जय गोसाईकुण्ड!



