हेटौंडा–काठमाडौं आवतजावतलाई सुरक्षित, सहज र भरपर्दो बनाउन बागमती प्रदेश सरकारले नयाँ वैकल्पिक सडक विस्तारको प्रक्रिया अघि बढाएको छ। हाल सञ्चालनमा रहेको भीमफेदी–देउराली–सिस्नेरी सडकको विकल्पका रूपमा भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक निर्माण तथा स्तरोन्नतिको सम्भाव्यता अध्ययन तीव्र पारिएको हो।
बागमती प्रदेशका डा. दिनेशचन्द्र देवकोटा नेतृत्वको प्राविधिक टोलीले प्रस्तावित सडकखण्डको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणमा यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीनकुमार सिंह तथा पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारीको समेत सहभागिता रहेको थियो।
भीमफेदी गाउँपालिकाको पहलमा गरिएको अनुगमनका क्रममा टोलीले सडकको भौगोलिक अवस्था, कृषि उत्पादन, हरित उद्यमशीलता तथा पर्यटन विकासका सम्भावनाबारे विस्तृत अध्ययन गरेको जनाएको छ।
मन्त्री देवकोटाले उक्त सडक केवल यातायातको विकल्प मात्र नभई स्थानीय आर्थिक विकासको प्रमुख आधार बन्न सक्ने बताउनुभयो। उहाँले गाउँका कृषि उत्पादनलाई बजारसम्म सहज पहुँच पुर्याउन र पर्यटनसँग जोडिएका उद्यमलाई प्रोत्साहन गर्न सडकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
कोगटे र इपा क्षेत्र प्राकृतिक सौन्दर्य, चिसो मौसम, हिमाली दृश्य तथा व्यावसायिक तरकारी खेतीका लागि परिचित छन्। पछिल्लो समय यहाँ ‘सिल्भर डलर’ नामक बहुमूल्य व्यावसायिक खेतीसमेत विस्तार हुँदै गएको छ। साथै, इपा खोलाका दहहरू आन्तरिक पर्यटकको आकर्षण बन्दै गएका छन्। गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षमा मात्रै पर्यटन क्षेत्रबाट २५ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ।
प्रस्तावित सडक करिब ३० किलोमिटर लामो हुने बताइएको छ। यो सडक हालको मार्गभन्दा केही लामो भए पनि बढी सुरक्षित र कम जोखिमयुक्त हुने दाबी गरिएको छ। सडकको ९ किलोमिटर खण्डमा कालोपत्रे सम्पन्न भइसकेको छ भने आवश्यक तीनमध्ये दुई वटा पुल निर्माण सम्पन्न भएका छन्। बाँकी एक पुल निर्माण हुन बाँकी रहेको जनाइएको छ।
सडकलाई पूर्ण रूपमा स्तरोन्नति गर्न करिब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले आगामी आर्थिक वर्षको बजेटमार्फत सडकलाई बहुवर्षीय योजनामा समावेश गरी निर्माण प्रक्रिया अघि बढाइने विश्वास व्यक्त गर्नुभएको छ।
हाल देउराली क्षेत्रमा हुने ट्राफिक जाम र यात्रुहरूले भोग्नुपर्ने सास्ती कम गर्न यो सडक प्रभावकारी विकल्प बन्न सक्ने भन्दै स्थानीयवासी उत्साहित देखिएका छन्।








