सडकमा बितेको बाल्यकाल, भविष्यविहीन जीवन, लागू औषध र असामाजिक गतिविधिमा डुबेको किशोर… यो कथा हो राजु अधिकारीको। कहिले कबाडी संकलन गर्दै, कहिले भाग्य खोज्दै धुलाम्मे सडकमा भट्किँदा उनलाई आफ्नो परिचय नै हराएको जस्तो लाग्थ्यो।
तर २०६८ सालमा एउटा नयाँ मोड आयो। हेटौंडामा सडक बालकको रूपमा भेटिएका राजुलाई मामाघर नेपाल ले उद्दार गरेर संरक्षणमा लियो। त्यो दिनदेखि सुरु भएको नयाँ यात्रा नै आज उनको जीवनलाई अर्को उचाइमा पुर्याइरहेको छ।
जीवन परिवर्तन गर्ने हात
मामाघर नेपालले राजुलाई नयाँ बाटो देखाउन सजिलो थिएन। विद्यालयमा टिक्न नसकेपछि विभिन्न सिप सिकाउने प्रयास भयो—हकर, इलेक्ट्रिसियन, फ्रीज मर्मत, प्लम्बिङ, बारिस्टा… जुनसुकै अवसर पाउँदा पनि उनले आत्मनिर्भर बन्ने अभ्यास गरे। खेलकुदमा लागेको बेला उनी हकिको राष्ट्रिय खेलसम्म पुगे, जुन उनको आत्मविश्वास बढाउने अर्को मोड बन्यो।
तर, हरेक दिन राजु भन्थे, “जबसम्म आफ्नै घर हुँदैन, तबसम्म मान्छे कोही हुँदैन।” यही चाहनाले उनलाई विदेशिने रहर जगायो।
कतारको कठोर यात्रा
राजु कतार पुगे। त्यहाँ उनले गरेका संघर्ष सजिलै शब्दमा उतार्न सकिँदैन। बिहानदेखि बेलुकासम्म पसिना बगाउँदै, अपमान र कठिनाइ सहँदै उनले एउटा मात्र लक्ष्य बोके—एकदिन आफ्नै घर हुनेछ। त्यही सपना बोकेर उनले हरेक दिन काम गरे, हरेक दुःखलाई सहनु पर्ने बाध्यता स्वीकारे।
सपना पुरा भएको दिन
आज त्यो सपना पुरा भएको छ। हेटौंडा–११ डाङ्गडुङ्गेमा १० धुर जमिनमा बनेको चार कोठे घर अब राजुको नाममा छ। गृहप्रवेश समारोहमा उनले आफ्नी श्रीमतीसँगै पहिलोपटक आफ्नै घरमा पाइला टेके।
नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भावुक माहोल थियो। “हेर्दा घर सानो होला, तर हाम्रो लागि दरबार भन्दा कम छैन,” मामाघर नेपालका प्रतिनिधिले भने।
सामूहिक विजयको अनुभूति
मामाघर नेपालको संरक्षणमा अहिले २४ जना अनाथ तथा असहाय बालबालिका छन्। संस्थापक अध्यक्ष अर्पण पराजुली भन्छन्, “राजुको गृहप्रवेश केवल उनको व्यक्तिगत सफलता होइन, समाजकै सकारात्मक रुपान्तरणको उदाहरण हो।”
हेटौंडा उपमहानगरपालिकाले पनि संस्थाको दिगोपनका लागि चालु आर्थिक वर्षमा अक्षय कोषमा २० लाख रुपैयाँ विनियोजन गरेको छ। यसले यस्ता बच्चाहरूको भविष्य सुरक्षित गर्ने आशा जगाएको छ।
राजुको कथा, समाजको प्रेरणा
सडकमा अलपत्र परेको एउटा जीवनले कसरी श्रम, संघर्ष र साथ पाएर स्थायी पहिचान बनाउँछ भन्ने उदाहरण बनेका छन् राजु। उनको गृहप्रवेश व्यक्तिगत मात्र होइन, सामाजिक पुनर्स्थापनाको सन्देश हो।
राजु हाँस्दै भन्छन्, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो। मैले सपना देखेजस्तो आफ्नै घर पाएको छु।”
सडकमा अझै कोही बालबालिका भेटिन्छ भने, राजुको कथा नै प्रमाण हो—सपना पुरा हुन्छन्, यदि समाजका सहयोगी हातहरू कहिल्यै रोकिँदैनन्।








