हेटौंडा – आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला मकवानपुरका दुवै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री पुर्याइएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सम्बन्धित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई सामग्री हस्तान्तरण गर्ने कार्य सुरु गरिएकामा सोमबार साँझसम्म जिल्लाभरका सबै मतदान केन्द्रमा आवश्यक सामग्री पठाइसकिएको हो।
बागमती प्रदेश निर्वाचन कार्यालय का प्रमुख हरि प्रसाद ढकालका अनुसार मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्रीसहित मतदान अधिकृतहरू सम्बन्धित केन्द्रमा पुगिसकेका छन्। आज सर्वदलीय बैठक बस्ने तथा मतदानका लागि बुथ निर्माण गर्ने काम सम्पन्न गरिने उनले जानकारी दिए।
जिल्लाका सबै केन्द्रमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मतदाता नामावली, मतदान अधिकृतका निर्देशन पुस्तिका, स्याही, स्ट्याम्प प्याड, सुरक्षात्मक सामग्रीलगायत निर्वाचन सञ्चालनका लागि आवश्यक सम्पूर्ण सामग्री व्यवस्थित रूपमा पुर्याइएको जनाइएको छ।
निर्वाचनलाई निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रत्येक मतदान केन्द्रमा ६ जनाको दरले कर्मचारी खटाइएको छ। मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरू सामग्रीसहित सम्बन्धित केन्द्रतर्फ प्रस्थान गरिसकेका छन्। दुर्गम तथा ग्रामीण भेगका केही केन्द्रमा सामग्री समयमै पुर्याउन विशेष सवारी साधनको व्यवस्था गरिएको थियो।
सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल को टोलीसमेत परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिसँगको समन्वयमा मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने संवेदनशील र अति संवेदनशील केन्द्रमा थप सुरक्षाकर्मी खटाइने योजना रहेको छ।
निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा सूचना टाँस गर्ने, मतदान स्थल व्यवस्थापन गर्ने तथा मतदान कक्ष तयारी गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ।
मकवानपुरका दुवै निर्वाचन क्षेत्रका मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गर्दै निर्वाचन आयोगको आचारसंहिता पालना गर्न र शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षसँग अपिल गरिएको छ।







