हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ।
यसको प्रभावले बिहीबार बिहान कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार खोटाङको कुर्लेघाटमा पछिल्लो एक घन्टाको अबधीमा २३.८ मिलिमिटर वर्षा भएको छ। जयरामघाट, उदयपुरको उदयपुरगढीमा पनि हल्का वर्षा भइरहेको छ।
पछिल्लो चौबीस घन्टामा विभिन्न भूभागमा हल्कादेखि मध्यम र भारी वर्षा मापन भएको छ।
बर्दियाको ओरहीखोलामा ७०.२ मिलिमिटर वर्षामापन भएको छ। स्यानो श्री चेपाङमा ५४.२ मिलिमिटर, सुर्खेतको कालीदमारमा ५४.६, स्याङ्जाको मालुंगामा ५३, पाल्पाको तानसेनमा ५३, नवलपुरको डाँडामा ५८.६, मकवानपुरको मकवानपुर गढीमा ५०.६, काठमाडौंको कपनमा ५२.२ मिलिमिटर वर्षा मापन भएको छ।
बिहीबार दिउँसो कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरू तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।







