हेटौँडा–१६, हटियास्थित रेड रोज इङ्ग्लिस बोर्डिङ स्कूलमा विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यास र नेतृत्व विकास गराउने उद्देश्यका साथ निर्वाचन सम्पन्न भएको छ।
कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी गराइएको उक्त निर्वाचनमा कुल ३१४ मतदातामध्ये २७४ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए भने ४० जना विद्यार्थी अनुपस्थित रहेका उक्त निर्वाचन अधिकृत प्रदीप आचार्यले जानकारी दिनुभएको छ।

निर्वाचन अधिकृत आचार्यका अनुसार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार विद्यालयको मुख्य पदहरूमा कक्षा ९ का विद्यार्थीहरूको बर्चस्व देखिएको बताउनुभयो। बाल क्लबको अध्यक्ष पदमा कक्षा ९ का रिदिप राई १७९ मतका साथ विजयी हुनुभएको छ। यस्तै, उपाध्यक्षमा युनिस दुलाल (१०५ मत), सचिवमा अर्चना तामाङ (९८ मत), र कोषाध्यक्षमा दिक्षा आले मगर (९९ मत) विजयी हुनुभएको छ, उहाँहरू सबै कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ। बाल क्लबको सह-सचिव पदमा भने कक्षा ८ की क्रिस्टिना स्याङ्बो ८८ मत ल्याएर निर्वाचित हुनुभएको छ।

विद्यालयको प्रशासनिक तथा सङ्गठनात्मक नेतृत्वतर्फ स्कूल क्याप्टेन पदमा कक्षा ९ का श्रीजल स्याङ्तान १३१ मत र स्कूल भाइस क्याप्टेनमा बिबिध राज राई १२० मत प्राप्त गरी विजयी हुनुभएको छ।
यसैगरी विद्यालयका चारवटा हाउस (सदन) तर्फ पनि नयाँ नेतृत्व चयन गरिएको छ। जसअन्तर्गत ब्लु हाउसको क्याप्टेनमा सप्रिन्स पाख्रिन (१७३ मत), रेड हाउसको क्याप्टेनमा ए.आर. थिङ (१५० मत), र ग्रीन हाउसको क्याप्टेनमा मनित अर्याल (१४१ मत) विजयी हुनुभएको छ। यी तीनै जना विजेताहरू कक्षा ९ का विद्यार्थी हुनुहुन्छ। त्यस्तै, यलो हाउसको क्याप्टेन पदमा कक्षा ८ का समर्थन श्रेष्ठ १४८ मतका साथ निर्वाचित हुनुभएको छ।

विद्यालय स्तरमै गरिएको यस प्रकारको निर्वाचनले विद्यार्थीहरूमा सानै उमेरदेखि देशको निर्वाचन प्रणाली, भोटको महत्त्व र लोकतान्त्रिक मूल्य मान्यता बुझ्न ठूलो मद्दत पुग्ने सहायक निर्वाचन अधिकृत अश्विन खड्काले बताउनुभएको छ।







