हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले आफ्नो प्रथम जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ।
शनिबार हेटौंडामा सम्पन्न अधिवेशनले सञ्जीव पाठकलाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गर्दै ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो।
यसअघि पार्टीको जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका मनहरी गाउँपालिकाका पाठकले आगामी पाँच वर्षका लागि जिल्ला संगठनको नेतृत्व गर्नेछन्। अधिवेशनले उपसभापतिमा टाकाराज थापा (सुरेश), सचिवमा विशभ अधिकारी तथा सहसचिवमा शान्ति थापा विडारीलाई चयन गरेको छ।
त्यसैगरी, जिल्ला कार्यसमितिका सदस्यहरूमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा र देवकुमार अर्याल चयन भएका छन्। नवगठित समितिबाट एक सदस्यलाई पछि कोषाध्यक्षमा मनोनयन गरिने जनाइएको छ।
अधिवेशनले संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने उद्देश्यसहित हरिहर खतिवडालाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को सभापति तथा देवकुमार अर्याललाई क्षेत्र नम्बर २ को सभापतिमा समेत चयन गरेको छ।







