लागूपदार्थको प्रयोग समस्या हो — तर समाधान पनि छ, र त्यो समाधान हो उपचार। जब कुनै व्यक्ति आफ्नो जीवन सुधार्ने निर्णय गर्दै पुनर्स्थापना केन्द्रको ढोका ढक्ढक्याउँछ, त्यही क्षण ऊ जीवनको सबैभन्दा साहसी कदम चालिरहेको हुन्छ। महिनौँको अनुशासन, परामर्श र उपचारपछि ऊ नयाँ सोच, आत्मविश्वास र आशाका साथ समाजमा फर्किन्छ। तर, त्यहीँबाट सुरु हुन्छ अर्को कठिन यात्रा — समाजको दृष्टिकोण र स्वीकृतिको परीक्षा।
हाम्रो समाजमा अझै पनि लागूपदार्थको प्रयोगलाई “चरित्रको कमजोरी”, “लाजको कुरा” वा “अपराध” का रूपमा हेर्ने धारणा बलियो छ। यही सोचका कारण उपचारपछि फर्किएका व्यक्तिलाई विश्वास गर्न समाज हिच्किचाउँछ। “रिहाब बसेको मान्छे हो” भन्ने एक वाक्यले पनि उनीहरूको मनोबल कमजोर पार्छ। सुधारको बाटो समातेका मानिसहरूलाई सहानुभूति र सम्मानको सट्टा शंका र दूरीले घेर्छ।
तर वास्तविकता के हो भने — लागूपदार्थको प्रयोग अपराध होइन, उपचारयोग्य रोग हो। जसले उपचार लिन्छ, ऊ अपराधी होइन; बरु जिम्मेवारीपूर्वक परिवर्तन रोज्ने व्यक्ति हो। पुनर्स्थापना क्षेत्रमा मैले देखेका सयौं युवाहरूले आफ्नो जीवन पुनः निर्माण गरेका छन्। उनीहरूमा देखिने अनुशासन, व्यवहारिक परिवर्तन र जीवनप्रतिको सकारात्मक दृष्टिकोणले स्पष्ट देखाउँछ — सुधार सम्भव छ। तर, समाजले विश्वास र अवसर नदिँदा ती परिवर्तन धेरैजसो स्थायी हुन सक्दैनन्।
उपचार अन्त्य होइन — नयाँ सुरुवात हो। पुनर्स्थापना केन्द्रले जीवनलाई नयाँ दिशा दिन्छ, तर त्यो यात्रा समाजको साथबिना अधूरो रहन्छ। जब सुधारिएको व्यक्ति घर फर्किन्छ, परिवार र समुदायले खुला मनले स्वागत गर्नुपर्छ। समाजले साथ दियो भने सुधार स्थायी हुन्छ; बेवास्ता गर्यो भने पुनःलतको जोखिम बढ्छ।
त्यसैले, सोच परिवर्तन अनिवार्य छ। मिडिया, विद्यालय, सरकारी निकाय र नागरिक समाज सबैले लागूपदार्थबारे सही जानकारी र चेतना फैलाउनुपर्छ। मिडियाले सुधारिएका व्यक्तिहरूका प्रेरणादायी कथाहरूलाई प्राथमिकता दिनुपर्छ, जसले समाजको दृष्टिकोण परिवर्तनमा सहयोग पुर्याउँछ। स्थानीय सरकार र निजी क्षेत्रले पुनर्स्थापित व्यक्तिलाई रोजगारी र आत्मनिर्भरता कार्यक्रममार्फत पुनःएकीकरणको अवसर दिनु जरुरी छ। परिवार नै पहिलो संस्था हो — जसले विश्वास फिर्ता गरेर आत्मसम्मान पुनःस्थापना गर्न सक्छ। साथै, सरकारले पुनर्स्थापना केन्द्रहरूलाई औपचारिक स्वास्थ्य प्रणालीमा समेटी नीतिगत संरक्षण विस्तार गर्नुपर्छ।
अन्ततः, सुधारको सबभन्दा ठूलो औषधि उपचार होइन, सामाजिक स्वीकृति हो। “रिहाब बसेको” होइन, “जीवन परिवर्तन गरेको” दृष्टिले हेर्ने बानी बसाल्न सके मात्रै वास्तविक पुनर्स्थापना सम्भव हुन्छ। उपचार लिएर फर्किएका व्यक्ति कमजोर होइनन् — उनीहरू साहसी हुन्। उनीहरूलाई अवसर दिनु नै समाजको साँचो मानवता हो।
अब समय आएको छ — “उनीले गल्ती गरे” भन्ने होइन, “उनीले सुधार गरे” भनेर बोल्ने समाज बन्ने। कलंक होइन, कदर गर्न सिकौँ। 
लेखक:मनिषमान श्रेष्ठ– लागूपदार्थ उपचार विज्ञ/परामर्शकर्ता, सिआन पुनर्स्थापना केन्द्र


