मनहरी गाउँपालिका जनस्वास्थ्य शाखा तथा थाहा स्मृति आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा, UNICEF र PHRD Nepal को साझेदारीमा मनहरी गाउँपालिका वडा नं. ८ मा समुदायमा आधारित रोग निगरानी (Community-Based Surveillance–CBS) सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
समुदायमा अनपेक्षित रूपमा देखापर्ने रोग, रोगका लक्षणसमूह तथा अन्य जनस्वास्थ्यसम्बन्धी घटनाहरूको समयमै पहिचान, प्रतिवेदन र व्यवस्थापनका लागि समुदायलाई सचेत तथा सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
कार्यक्रममा थाहा स्मृति आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सुनिता मुक्तान र राधिका अर्यालले समुदायमा देखिन सक्ने विभिन्न जनस्वास्थ्य घटनाहरूको पहिचान, तिनको निगरानी तथा सम्बन्धित निकायलाई सूचना प्रवाह गर्ने प्रक्रियाबारे जानकारी दिएका थिए। उनीहरूले यस्ता घटनाको सूचना तत्काल नजिकको स्वास्थ्य संस्थामा वा ‘हेलो स्वास्थ्य’ हटलाइन नम्बर १११५ मार्फत उपलब्ध गराउन सकिने विषयमा समेत सहभागीहरूलाई अभिमुखीकरण गरेका थिए।
वडा अध्यक्ष नारायण उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाहा स्मृति आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सुनिता मुक्तान, राधिका अर्याल तथा PHRD Nepal की कार्यक्रम अधिकृत नम्रता सिलवालले सहजीकरण गरेका थिए।
कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधि तथा समुदायका अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले समुदायस्तरमै रोग तथा जनस्वास्थ्य घटनाको प्रारम्भिक पहिचान गरी समयमै सूचना प्रवाह गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, समुदाय र स्वास्थ्य संस्थाबीचको समन्वय सुदृढ भई सम्भावित जनस्वास्थ्य जोखिमको व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।







