हेटौंडा/ नेकपा (एमाले)का तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौलाले मध्यवर्ती क्षेत्रको विद्यमान सीमा विवाद समाधानका लागि यसको सिमा महेन्द्र राजमार्गबाट हटाएर मानव बस्ती बाहिर चुरेको डाँडामा सार्नुपर्ने बताउनुभएको छ। निर्वाचन लक्षित कार्यक्रमअन्तर्गत मनहरीका विभिन्न वडामा पुगेर स्थानीयका गुनासा सुन्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
भेटघाटका क्रममा मनहरी–७ बेलुवाकी कविता क्षेत्रीले निकुञ्जबाट आउने जङ्गली जनावरका कारण खेतीबाली नष्ट भएको र २५० भन्दा बढी धुरीले खेतबाट उत्पादन उठाउन नपाएको पीडा सुनाउनुभयो। यसैगरी एमाले नेता शिवकुमार काशीले वन्यजन्तु–मानव द्वन्द्व व्यवस्थापन, राप्ती खोलाको तटबन्धन तथा धनीपुर्जाको अवस्थाबारे उम्मेदवारको ध्यानाकर्षण गराउनुभयो।
छलफलका क्रममा उठेका जिज्ञासा र वस्तुस्थितिबारे जानकारी दिँदै एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीले मध्यवर्तीको समस्या र भूमिहीनको मुद्दा नै यस निर्वाचनको मुख्य एजेन्डा रहेको मिडियालाई जानकारी दिनुभयो। उहाँका अनुसार बर्तौलाले सदनमा खेलेको भूमिका र आगामी योजनाबारे स्थानीयलाई प्रष्ट पारिएको छ।
जनताका गुनासो सम्बोधन गर्दै बर्तौलाले भन्नुभयो, “मेरो स्पष्ट अडान छ—मध्यवर्तीको समस्या समाधान हुनैपर्छ। यसको सिमाना चुरेको डाँडामा सारेर मानव बस्ती र निकुञ्जको बीचमा पर्खाल लगाउनुपर्छ।”
उहाँले मनहरीमा रहेका करिब ११–१२ हजार भूमिहीनको समस्या समाधानका लागि प्रतिनिधि सभामा कानुनी जटिलता फुकाउन पहल गरेको उल्लेख गर्नुभयो। “भूमि आयोगमार्फत धनीपुर्जा वितरण गर्ने कानुनी व्यवस्था बनेको छ। गाउँपालिकाले समयमै लगत संकलन गरेर पठाउनुपर्छ, यसका लागि स्थानीयस्तरबाट पनि दबाब दिनुपर्छ,” उहाँले जोड दिनुभयो।
भेटघाटका क्रममा एमाले मनहरीका अध्यक्ष नवीन सुवेदीले बर्तौलाकै पहलमा रुपाचुरी–बालुभञ्ज्याङ खानेपानी आयोजना अघि बढेको र मनहरी–रुपाचुरी सडक स्तरोन्नतिको जिम्मा पनि एमालेले लिने बताउनुभयो।
मनहरी–६ रुपाचुरीकी लक्ष्मी थिङ र सुनाचुरीका स्थानीयले संसदमा जग्गाको धनीपुर्जा र मध्यवर्तीको समस्याबारे आवाज उठाएको भन्दै बर्तौलाको प्रशंसा गरे। उनीहरूले राप्ती खोलाको तटबन्धन, बस्ती संरक्षण तथा निकुञ्जका कडा नियमबाट राहतको माग राखेका छन्।
अघिल्लो कार्यकालमा प्राप्त दुईवटा बजेटमार्फत खानेपानी, पूर्वी राप्ती तटबन्धनलगायत क्षेत्रमा उल्लेख्य काम भएको दाबी गर्दै बर्तौलाले बाँकी अधुरा योजना पूरा गर्न पूर्ण कार्यकालका लागि सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। आजको निर्वाचन अभियानमा एमाले नेता बिरेन्द्र डिसी, रामचन्द्र घिमिरे, रघुनाथ लामा र शालिक बानियाँको सहभागिता रहेको थियो।







