हेटौंडा/नेपाली कम्युनिष्ट पार्टीले देशभर २ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेसँगै मकवानपुर जिल्लाबाट मात्रै ४५ जना केन्द्रीय सदस्य रहेको तथ्य सार्वजनिक भएको छ । एउटै जिल्लाबाट यति ठूलो संख्यामा केन्द्रीय सदस्य हुनु अस्वभाविक भन्दै राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ ।
सामान्यतया ठूला शहरबाहेकका जिल्लाबाट अन्य राजनीतिक दलमा एक जिल्लाबाट बढीमा ३–४ जना मात्र केन्द्रीय सदस्य रहने परम्परा छ । तर मकवानपुरमा ४५ जना केन्द्रीय सदस्य देखिनुले पार्टीको संगठनात्मक संरचनामाथि नै प्रश्न उठेको छ । जिल्लाका नेता तथा कार्यकर्ताहरु नै आफ्नै पार्टीभित्र को–को केन्द्रीय सदस्य हुन् भन्ने विषयमा स्पष्ट हुन नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।
पार्टीका स्थानीय कार्यकर्ताहरुका अनुसार कार्यक्रममा कहिल्यै नदेखिएका व्यक्तिहरुले समेत केन्द्रीय सदस्यको हैसियतमा आसन ग्रहण गर्दा अचम्म लाग्ने गरेको छ ।
“हामीले सँगै काम नगरेको, संगठनमा खासै सक्रियता नदेखिएको व्यक्ति पनि केन्द्रीय सदस्य भनेर बोलाइन्छ । अब त केन्द्रीय सदस्य को हुन् भन्ने नै छुट्याउन गाह्रो भइसकेको छ,” नेकपाका एक जिल्ला नेताले बताए ।
जिल्ला तहका नेताहरु बैठक तथा कार्यक्रममा कसलाई प्राथमिकता दिने भन्ने विषयमै अन्योलमा पर्ने गरेका छन् । तल्लो तहमा काम गर्ने कार्यकर्ताहरुले भने योगदान र क्षमताभन्दा पनि समायोजनका आधारमा पद बाँडफाँड भएको गुनासो गरेका छन् ।
मकवानपुरबाट केन्द्रीय सदस्य रहेका नेताहरुमा विरोध खतिवडा, कुमारी मोक्तन, मुनु सिग्देल, विजय गौतम, प्रेमबहादुर पुलामी, घनप्रसाद गौतम, मानकुमारी पाख्रिन, मिना लामा, बालकृष्ण चौलागाईं, देवनाथ दुलाल, प्रलाद लामिछाने, कृष्ण घलान, जीवन लामा, गोमा तिमल्सिना, रामचन्द्र बल, सर्केश घलान, गौतम बुद्ध लामा, भीम पाख्रिन, ध्रुवबहादुर भुजेल, किशोर टन्डन, किशोर बर्तौला, गणेश विक, यादव गजुरेल, राममाया पाख्रिन, तिर्थमाया पाख्रिन, भुवन विष्ट, रामहरि सुवेदी लगायत ४५ जना रहेको पार्टीले जनाएको छ । केही केन्द्रीय सदस्य जिल्ला बाहिर रहेकाले सबै नाम सार्वजनिक हुन बाँकी रहेको जानकारी जिल्ला संयोजक भीम पाख्रिनले दिएका छन् ।
पार्टीका जिल्ला संयोजक तथा केन्द्रीय सदस्य भीम पाख्रिनले भने धेरै घटक मिलेर बनेको पार्टी भएकाले केन्द्रीय सदस्यको संख्या ठूलो हुनु स्वाभाविक भएको दाबी गरे । “धेरै घटकहरु मिलेर बनेको पार्टी हो, त्यसैले ४५ जना केन्द्रीय सदस्य हुनु असामान्य होइन,” उनले भने, “सबै क्षमतावान र दक्ष हुनुहुन्छ ।” उनले पार्टीको महाधिवेशनपछि केन्द्रीय सदस्यको संख्या घट्ने पनि बताए ।
यसैबीच, मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट विजय गौतम र क्षेत्र नम्बर २ बाट लबशेर विष्ट उम्मेदवार बनेका छन् । तर उम्मेदवार जिताउने अभियानमा सक्रिय नदेखिएका व्यक्तिहरु केन्द्रीय सदस्यको हैसियतमा अगाडि आउँदा मतदाता मात्र होइन, नेता तथा कार्यकर्ता समेत असन्तुष्ट देखिएका छन् ।







