हेटौंडामा स्रोत नखुलेको ४६ हजार अमेरिकी डलर र युरोसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका-१ स्थित चौकीटोल चेकपोइन्टबाट उनीहरूलाई शनिबार राति साढे आठ बजे पक्राउ गरेको हो।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०७६५ नम्बरको यात्रुवाहक विद्युतीय माइक्रोबसमा सवार यात्रुहरूको शरीर र झोला खानतलासी गर्दा उक्त विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, गोरखपुरका २६ वर्षीय प्रशान्त पाठक र राजस्थान चित्तौडगढका ३२ वर्षीय राहुल कुमार मान्डावत रहेका छन्। कुशवाहको साथबाट १२ हजार अमेरिकी डलर, पाठकबाट १४ हजार युरो र मान्डावतबाट २० हजार अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ।
बरामद विदेशी मुद्राको कुल मूल्य हालको विनिमय दरअनुसार करिब ६२ लाख ९० हजार रुपैयाँ हुने प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।