हेटौँडा — नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक राशिका पुरस्कार जित्न सफल मकवानपुरका युवा क्रिकेटर रिजन ढकाललाई हेटौँडा उपमहानगरपालिका–१४ का वडा अध्यक्ष दीपक खड्काले नगद ५० हजार रुपैयाँसहित सम्मान गरेका छन्।
हेटौँडा र समग्र मकवानपुरको गौरव बनेका ढकाललाई प्रोत्साहन तथा सम्मानस्वरूप उक्त रकम प्रदान गरिएको हो।
सम्मान कार्यक्रममा वडा अध्यक्ष खड्काले युवाहरूको सक्रियता र प्रतिभाले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। आफ्नै वडाभित्र रहेका प्रतिभाशाली युवा खेलाडीलाई उच्च सम्मान र प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले खेलकुद अहिले युवाहरूको परिवर्तन र देशको पहिचान स्थापित गर्ने महत्वपूर्ण माध्यम बनेको बताए।
खड्काले खेलाडीको हौसला बढाउन र उनीहरूको प्रतिभाको कदर गर्न वडा कार्यालयले आगामी दिनमा पनि यस्ता सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।






