बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राजस्व वृद्धि सम्भव नहुने बताउनुभएको छ । उहाँले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको आधार फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौँडाद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताउनुभयो ।
उहाँले करको भार बढाउनुको सट्टा उत्पादन र आर्थिक गतिविधि वृद्धि गरी कर तिर्न सक्ने नागरिक तथा व्यवसायको संख्या बढाउनु सरकारको लक्ष्य हुनुपर्ने उल्लेख गर्नुभयो । आर्थिक क्षमता बढी भएका नागरिकले क्षमताअनुसार योगदान गर्नुपर्ने र न्यून आय भएका नागरिकमाथि अनावश्यक करको भार पर्न नहुने उहाँको भनाइ थियो ।
मुख्यमन्त्री थापा मगरले कर प्रणाली न्यायपूर्ण भए मात्र आर्थिक असमानता न्यूनीकरण, सामाजिक न्याय र आर्थिक समावेशीकरण प्रवर्द्धन गर्न सकिने बताउनुभयो । इमानदारीपूर्वक कर तिर्ने नागरिक निरुत्साहित हुने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
कर संकलनसँगै सार्वजनिक स्रोतको सदुपयोग र खर्चको पारदर्शिता सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताउँदै उहाँले सरकारको सफलता बजेट खर्चको मात्रामा नभई त्यसबाट नागरिकको जीवनमा आएको परिवर्तनका आधारमा मापन हुनुपर्ने धारणा राख्नुभयो ।
नागरिकले कर तिरेपछि गुणस्तरीय शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, सुरक्षा तथा सार्वजनिक सेवा पाउने अपेक्षा राख्ने भन्दै उहाँले करदाताको योगदानको सम्मान र सार्वजनिक खर्चलाई परिणाममुखी बनाउनुपर्ने बताउनुभयो ।
आन्तरिक राजस्व परिचालनलाई आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्रीले बाह्य ऋण र अनुदानमा अत्यधिक निर्भरता दीर्घकालीन आर्थिक जोखिम बन्न सक्ने बताउनुभयो । प्रदेश र स्थानीय तह आर्थिक रूपमा सक्षम भए मात्र संघीयताको वास्तविक लाभ नागरिकसम्म पुग्ने उहाँको भनाइ थियो ।
बागमती प्रदेशमा उद्योग, व्यापार, पर्यटन, कृषि, सेवा, शिक्षा, स्वास्थ्य, निर्माण तथा सूचना प्रविधिका क्षेत्रमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले ती क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताउनुभयो ।
युवालाई स्वदेशमै रोजगारी र सम्मानजनक आम्दानीको अवसर सिर्जना गर्नु सरकारको प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो । युवालाई विदेश नजान आग्रह गरेर मात्र नहुने भन्दै कृषि उत्पादनको उचित मूल्य, उद्योग स्थापनाका लागि सहज वातावरण तथा पर्यटन, सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा अवसर सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा हेर्नुपर्ने बताउँदै उहाँले लगानीकर्तालाई अवसर, श्रमिकलाई रोजगारी, किसानलाई उचित मूल्य र राज्यलाई न्यायोचित राजस्व प्राप्त हुने अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी, बदलिँदो डिजिटल अर्थतन्त्रअनुसार कर प्रशासनलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने उहाँको भनाइ थियो । कर तिर्ने प्रक्रियालाई सहज बनाउँदै कर कार्यालयलाई नागरिकका लागि डर र झन्झटको केन्द्र नभई सेवा तथा सहजीकरणको केन्द्रका रूपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
राजस्व चुहावट, कर छली र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री थापा मगरले बागमती प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
उहाँले करदाताको योगदानको सम्मान, निजी क्षेत्रबाट लगानी तथा रोजगारी सिर्जना र सार्वजनिक स्रोतको पारदर्शी उपयोग हुन सके मात्र समृद्धिको प्रतिफल सबै वर्ग र समुदायसम्म पुग्ने बताउनुभयो ।
यस वर्ष राष्ट्रिय कर दिवस ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ मनाइएको हो ।






