मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित रिभरसाइड बस्तीका स्थानीयले ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानी सञ्चालन तथा खानीसम्म पुग्ने सडक निर्माणका कारण मनहरी खोलाको प्राकृतिक बहाव प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले निर्माण कार्यका कारण बस्ती नै बाढी, कटान र डुबानको जोखिममा पर्न सक्ने भन्दै तत्काल अनुगमन र छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
स्थानीय वीरेन्द्र डिसीको नेतृत्वमा गएको सरोकारवालाको टोलीले मंगलबार बागमती प्रदेशकी कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै उक्त क्षेत्रको स्थलगत अनुगमन गरी आवश्यक कदम चाल्न आग्रह गरेको हो ।
स्थानीयका अनुसार उद्योगको खानीसम्म पुग्ने सडक निर्माणका क्रममा मनहरी खोलाको किनार तथा खोलाभित्रै एक्स्काभेटरलगायतका भारी उपकरण प्रयोग गरेर काम भइरहेको छ । यसले खोलाको प्राकृतिक स्वरूप र बहावमा परिवर्तन ल्याउन सक्ने तथा नदीजन्य पदार्थको अवस्था प्रभावित हुन सक्ने उनीहरूको आशंका छ ।
स्थानीयले विगतमा पटक–पटक मनहरी खोलामा बाढी आउँदा नदीको पानी बस्ती नजिकसम्म पुग्ने गरेको स्मरण गराउँदै पछिल्लो समय खोलाको बगरको सतहसमेत बढ्दै गएको बताएका छन् । बगरको उचाइ बस्तीको सतहसँग बराबर हुन थालेको अवस्थामा खोलामा भइरहेको निर्माण गतिविधिले भविष्यमा बस्ती थप जोखिममा पर्न सक्ने उनीहरूको भनाइ छ ।
ज्ञापनपत्रमा निर्माण कार्यका लागि आवश्यक सरकारी स्वीकृति तथा वातावरणीय अध्ययनसम्बन्धी कानुनी प्रक्रिया पूरा भए–नभएको छानबिन गर्न, सम्बन्धित प्राविधिक निकायबाट स्थलगत अध्ययन गराउन र स्थानीयको घरजग्गा तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि तत्काल आवश्यक उपाय अपनाउन माग गरिएको छ ।
स्थानीयले छानबिन तथा प्राविधिक अध्ययन पूरा नहुँदासम्म जोखिमपूर्ण देखिएका निर्माण गतिविधि रोक्न वा नियन्त्रण गर्नसमेत आग्रह गरेका छन् । कानुनविपरीत काम भएको वा लापरबाही देखिए सम्बन्धित पक्षलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
यसैबीच, रिभरसाइड क्षेत्रका स्थानीय सरोकारवालाको बैठकले बस्तीलाई बाढीको जोखिमबाट सुरक्षित बनाउन सर्वसम्मत निर्णय गरेको छ । बैठकले निर्माणाधीन सडक तथा त्यस आसपासको क्षेत्रको तत्काल अवलोकन र अनुसन्धान गरी सबैभन्दा पहिले रिभरसाइड बस्तीलाई सुरक्षित बनाउने र निर्धारित मापदण्डअनुसार मात्र सडक निर्माण अघि बढाउन सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको हो ।
स्थानीयले आफूहरू उद्योग सञ्चालन वा विकास निर्माणको विरोधमा नरहेको स्पष्ट पार्दै विकासका नाममा बस्ती, नागरिकको जनधन र प्राकृतिक सम्पदालाई जोखिममा पार्न नहुने बताएका छन् ।
स्थानीयले उक्त विषयमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई समेत ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र मनहरी गाउँपालिकामा पनि हस्तान्तरण गर्ने तयारी रहेको स्थानीयले जनाएका छन् ।






