हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।
कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका १४ जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो।

विज्ञप्ति अनुसार दुर्घटनामा ६ जना घाइते भएका थिए। तीमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
सरकारले घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइसकेको जनाएको छ। साथै, मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम र घाइतेको उपचार खर्च यथाशीघ्र उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
गत कात्तिक २६ गते बिहीबार बिहान काठमाडौं–सर्लाही रुटमा चल्ने मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय सवारी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो। मृतकमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।






