मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ तिनताप्के क्षेत्रमा एक पिकअप गाडीबाट ७१ किलो ७०० ग्राम लागुऔषध गाँजा बरामद गरी दुई युवालाई पक्राउ गरेको छ।
२०८१ मंसिर १० गते दिउँसो १२:३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पूर्व-पश्चिम लोकमार्गमा प्रदेश ३-०१-०२४ च ३०५९ नम्बरको पिकअप गाडीलाई रोकी अनुसन्धान गरेको थियो।
पक्राउ परेका दुवै अभियुक्त राक्सीराङ गाउँपालिका वडा नं. ९ मिलन घलान (२० वर्षीय) र दावा थिङ (२६ वर्षीय) – स्थानीय बासिन्दा हुन्।
प्रहरीले गाडीको चालक बस्ने सिटमुनि लुकाइएको अवस्थामा विशाल मात्रामा लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुवै अभियुक्त र बरामद गाँजासहित पिकअप गाडी नियन्त्रणमा लिइएको छ।
मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई प्रहरीले थप अनुसन्धान जारी राखेको छ।