हेटौंडा/मकवानपुर: हेटौंडा उपमहानगरको वडा नम्बर–१९ लाई आउँदो मंसिर १४ गते बालमैत्री वडा घोषणा गरिने भएको छ। ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुख्य नाराका साथ यो कार्यक्रम सञ्चालन गरिन लागिएको हो।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै १९ नम्बर वडाकि वडा सम्पर्क व्यक्ति मिना देवकोटाले वडाको पन्ध्रसोला खेलमैदानमा निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको जानकारी दिईन्।
बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सुचकहरुमा अभ्यास गरी ५१ वटा सुचकहरुमध्ये ४४ वटा सुचकहरु १०० प्रतिशत र १ वटा सुचक ९८ प्रतिशत, ३ वटा सुचक ९५ प्रतिशत र बाँकी ३ वटा सुचकहरु क्रमशः ९०, ८५ र ८० सम्म नतिजा हाँसिल भएको देवकोटाले बताइन्।
वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ३ हजार ३ सय ५० रहेको छ । जसमा १ हजार ७ सय २७ बालक र १ हजार ६ सय २३ बालिका रहेका छन् ।
कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ५१.५५ प्रतिशत बालक र ४८.४४ प्रतिशत बालिका रहेका छन् ।वडामा सामुदायिक र संस्थागत र बाल विकास केन्द्र सहितका १० वटा विद्यालयहरु सन्चालनमा रहेका छन् । साथै समुदाय स्तरमा १८ वटा बालसमुहरु र १ वडा बालसन्जाल रहेको छ । जसमा ४ सय ५० जना बालबालिकाहरु आवद्ध रहेका छन् ।
वडाका अध्यक्ष नरनाथ सुवेदीले बालमैत्री वडा घोषणापछि बालविवाह र बालश्रम न्यूनीकरणमा विशेष पहल गरिने बताएका छन्। यो वडा पहिले नै पूर्ण खोप, पूर्ण साक्षर र खुला दिसामुक्त वडा घोषित भइसकेको बताए ।







