मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उद्योग तर्फको उपाध्यक्ष पदमा रविन्द्र घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवालको प्यानलबाट उनले उम्मेदवारी दिएका हुन्।
हेटौंडा उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको अध्यक्षसमेत रहेका घिमिरे २०५२ सालदेखि सरल निर्माण सेवामार्फत व्यवसायिक क्षेत्रमा सक्रिय छन्। उनले हेटौंडाको बुद्ध चोकमा साई कलेक्शन नामको तयारी पोशाक पसल पनि सञ्चालन गरिरहेका छन्।
आफूले उम्मेदवारी फिर्ता लिने भन्ने हल्ला चलेपछि पत्रकार सम्मेलन गरेर घिमिरेले उम्मेदवारी कायमै रहने स्पष्ट पारे। विगतको निर्वाचनमा थोरै मतान्तरले पराजित भएको स्मरण गर्दै उनले यसपटक व्यवसायीहरूको हक हितका लागि पुनः उम्मेदवारी दिएको बताए। उनले बजार आन्दोलनदेखि व्यवसायीका हरेक समस्यामा आफू सधैं साथमा रहेको दाबी गरे।
यसैबीच, उद्योग तर्फबाट सदस्यहरूमा दिपक शिवाकोटी, राजकुमार बानियाँ, कृष्णगोपाल महर्जन र महिला सदस्यमा मेनका श्रेष्ठले उम्मेदवारी दिएका छन्। संघको अधिवेशन पुस २४ गतेदेखि २७ गतेसम्म हुने कार्यक्रम रहेको छ।







