हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ। “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित बुधबार एक कार्यक्रमबीच वडालाई निकृष्ट बालश्रम र बाल विवाहमुक्त घोषणा गरिएको हो।
वडाध्यक्ष पेम्बा लामाको अध्यक्षता र हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडालाई बालमैत्री घोषणा गरिएको हो।
बालमैत्री वडा घोषणाका लागि तोकिएका ५१ सूचकमध्ये ४५ वटामा शतप्रतिशत, २ वटामा ९८ प्रतिशत, एउटामा ९६ र अर्को एउटामा ९५ प्रतिशत नतिजा प्राप्त भएको छ। बाँकी २ सूचकमा ८१ प्रतिशत उपलब्धि हासिल भएको छ। बालमैत्री घोषणाका लागि न्यूनतम ८० प्रतिशत आधारविन्दु पार गर्नुपर्ने प्रावधान रहेको छ।
८ हजार ८ सय ४२ जनसंख्या रहेको उक्त वडामा २ हजार ५ सय ७४ बालबालिका रहेका छन्। वडाले गत वर्ष मंसिर २५ गते सरोकारवालाहरूको उपस्थितिमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी बालमैत्री अभियान सुरु गरेको थियो।









