हेटौंडा/ मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी २ करोड २६ लाख रुपैयाँ पुगेको छ। शनिबार आयोजित २५औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा संस्थामा २ हजार ४ सय ७९ जना शेयर सदस्य आबद्ध रहेका छन्।
संस्थाका अध्यक्ष विजयसागर श्रेष्ठले आगामी आर्थिक वर्ष २०८१/८२ मा शेयर पुँजी २ करोड ५० लाख र ऋण लगानी २० करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको बताए। प्रबन्धक विपिन कुमार श्रेष्ठका अनुसार हाल संस्थाको निक्षेप संकलन २० करोड २९ लाख रुपैयाँ र ऋण लगानी १७ करोड २४ लाख रुपैयाँ रहेको छ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाले विभिन्न मानवीय सेवा संस्थालाई राहत सामग्री वितरण गरेको छ। मानवसेवा आश्रम, मामाघर परियोजना, वृद्धाश्रम लगायत आठ संस्थालाई चामल, दाल, साबुन र नगद सहयोग गरिएको हो।
साधारणसभामा जेष्ठ नागरिक दिलमाया गौतम र जगन्नाथ शर्मा ढकाल, असल निक्षेपकर्ता रेखाकुमारी रुम्बा र विष्णु शाही, असल ऋणी हिरामाया थिङ्ग र उत्तम गुरागाईँ तथा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागमती प्रदेशका रामेश्वर अर्याल, सहकारीका सल्लाहकार अशोक शाक्य लगायतको उपस्थिति रहेको थियो।