मनहरी – नेपालमा हरेक वर्ष करिब २,१०० महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ, जसमा १,३०० महिलाले ज्यान गुमाउने गरेका छन्। शारीरिक सम्पर्कका कारण सर्ने यो रोगलाई न्यूनीकरण गर्न सरकारले एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान सुरु गरेको छ।
यसै सन्दर्भमा मनहरी गाउँपालिकामा माघ २२ देखि २५ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। स्वास्थ्य संयोजक रामचन्द्र दाहालका अनुसार गाउँपालिकाभित्रका १० देखि १४ वर्ष उमेर समूहका २,२०० किशोरीलाई खोप दिने योजना रहेको छ।
३० खोप केन्द्र तोकियो
चार दिने अभियान अन्तर्गत मनहरी गाउँपालिकाका २० विद्यालय र १० स्वास्थ्य संस्थामा गरी ३० वटा खोप केन्द्र तोकिएको छ। वडा अनुसार खोप पाउने किशोरीहरूको संख्या निम्नानुसार छ:
मनहरी–१ : १५५ जना
मनहरी–२ : १५५ जना
मनहरी–३ : २०५ जना
मनहरी–४ : १९५ जना
मनहरी–५ : २०४ जना
मनहरी–६ : २,९४६ जना
मनहरी–७ : ६६२ जना
मनहरी–८ : ३८४ जना
मनहरी–९ : २७ जना
विद्यालयबाहिरका किशोरीलाई पनि खोप उपलब्ध गराइने
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई निर्देशन दिएका छन्। विद्यालय नजाने किशोरीलाई समेत खोप उपलब्ध गराउने वातावरण बनाउन उनले आग्रह गरे।
अध्यक्ष कालाखेतीले आगामी गाउँसभामा अन्य उमेर समूहका महिलाहरूलाई पनि एचपीभी खोप उपलब्ध गराउने सम्भावना खोजी गरिने बताए।
कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, सञ्चारकर्मी शिवकुमार काशी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी तथा गाउँसभा सदस्यहरूको उपस्थिति रहेको थियो।