हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडा (भोलि) मंगलबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै वडाले “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” नारासहित घोषणा गर्न लागेको जानकारी गराएको हो।
वडाध्यक्ष सुनिल मुक्तानका अनुसार नेपाल सरकारले तोकेका ५१ वटा सूचकहरू पूरा भएसँगै वडा बालमैत्री घोषणा हुन लागेको हो। तीमध्ये ४५ वटा सूचक १०० प्रतिशत, ३ वटा ९७ प्रतिशत, २ वटा ९० प्रतिशत र १ वटा ८१ प्रतिशत पूरा भएका छन्।
२०७९ सालको घरधुरी सर्वेक्षणअनुसार वडामा १० हजार ९७९ जनसंख्या छन्, जसमा ५४१६ महिला, ५५६१ पुरुष र २ जना लैंगिक अल्पसंख्यक छन्। त्यस्तै, ३१८१ बालबालिका रहेका वडामा १० वटा विद्यालय सञ्चालनमा छन्।
वडामा २४ वटा बाल समूह र बाल सञ्जाल सक्रिय छन्, जसमा ६०० बालबालिका आबद्ध छन्। विभिन्न संरचनागत समितिमा ६४७ बालबालिका प्रत्यक्ष सहभागी छन्।
२०७९ साल मंसिर २६ गते सरोकारवालाहरूको उपस्थितिमा प्रतिबद्धता जनाउँदै वडाले बालमैत्री अभियान सुरु गरेको थियो। त्यसयता विद्यालय, टोल र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको वडाध्यक्ष मुक्तानले बताए।
‘नेपाल सरकारले निर्धारण गरेका बालअधिकारका प्रमुख चार पक्ष—बालबचाऊ, बालसंरक्षण, बालविकास, बालसहभागिता र संस्थागत विकाससमेत गरी ५१ सूचकहरू पूरा गरिसकेका छौं,’ उनले भने।
बालमैत्री स्थानीय शासनको दिगोपनाका लागि सूचक मापन प्रतिवेदन, स्थितिपत्र र पञ्चवर्षीय रणनीतिक योजना तयार भइसकेको छ। जिल्लास्तरीय अनुगमन समितिबाट अनुगमन सम्पन्न भइसकेको वडाध्यक्षले जानकारी दिए।
नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा वडालाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिनेछ। वडावासी, विद्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरकारी/गैरसरकारी संघसंस्थाहरूको सहयोगले अभियान सफल हुन लागेको वडाध्यक्ष मुक्तानले बताए। उनले कार्यक्रमलाई सभ्य र भव्य बनाउन सबैलाई सहयोग तथा ऐक्यबद्धता जनाउन अनुरोध गरे।