हेटौंडा/मकवानपुर जिल्लाको पुरानो महाविर क्लबले नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका-५ नम्बर वडा इकाई समितिलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
नेपाली कांग्रेसले सञ्चालन गरेको समुदायमा प्राथमिक स्वास्थ्य परीक्षण शिविर अभियानको अवसरमा महाविर क्लबले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। क्लबका अध्यक्ष अजय मानन्धरका अनुसार क्लबले ५०० थान सुगर किट, २ थान डिजिटल रक्तचाप मापन मेसिनसहित विभिन्न आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सविन नेपालीका अनुसार क्लबले १५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
नविन टोल पिप्लेमा आयोजित प्राथमिक स्वास्थ्य परीक्षण शिविरमा १६५ जनाले स्वास्थ्य जाँच गराएका छन्। नेपाली कांग्रेस ५ नम्बर वडा समितिका सभापति यमबहादुर श्रेष्ठका अनुसार वडाबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै केही दिनभित्रै एक हप्तासम्म सञ्चालन हुने नयाँ स्वास्थ्य परीक्षण शिविरको तयारी भइरहेको छ।








