हेटौंडा उपमहानगरपालिका–१७, ठूलोगङ्गटेस्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार सम्पन्न भएको छ।
१० फिट अग्लो महादेवको मूर्ति स्थापना गर्ने उद्देश्यले आयोजित महायज्ञको समापन समारोहमा बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। श्रेष्ठले अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलको संरक्षण, प्रवर्द्धन र पूर्वाधार विकासमा सबैको प्रतिबद्धता आवश्यक रहेको बताए। साथै, यस्ता धार्मिक स्थलहरूको विकासले आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई सबल बनाउने उल्लेख गरे।
प्रदेश सरकारमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रहेका बेला उनले यस क्षेत्रमा खानेपानी तथा सिँचाइका लागि विशेष बजेट विनियोजन गरेको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरूको विकासका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
समारोहमा मधेस प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, समाजसेवी कमल बिष्ट लगायतले महायज्ञले समाजमा धार्मिक चेतना जागरण, युवा पुस्तालाई नैतिक आचरणमा स्थापित गर्न तथा सांस्कृतिक धरोहरको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
महायज्ञबाट करिब १३ लाख रुपैयाँ सङ्कलन भएको मूल समारोह समितिका संयोजक कृष्ण देव भण्डारीले जानकारी गराए। संकलित रकमबाट मन्दिर परिसरमा १० फिट अग्लो आधारस्तम्भसहित १० फिट अग्लो ध्यानमग्न महादेवको मूर्ति स्थापना, सभाहल स्तरोन्नति तथा मन्दिर परिसरमा घेराबारा निर्माण गरिने आयोजकले जनाएको छ।








