मकवानपुर प्रहरीले सानो हतियार तथा गोली सहित दुई जनालाई पक्राउ गरेको छ।
शुक्रबार अपराह्न करिब ३:४५ बजे, इलाका प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोस्ट हरियाली मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोस्टमा जाँच गर्दा ना ८ ख ८७७३ नम्बरको यात्रुवाहक बसबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्य, सिहुहर जिल्ला, धनहरा ग्राम निवासी २२ वर्षीय धिरज कुमार रहेका छन्। उनको कम्मरमा लोड गरिएको ९ एमएम अटो पेस्तोल र थप दुई राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ। उनीसँगै रहेका मोतिहारी जिल्ला, बहरी ग्राम निवासी २६ वर्षीय दिपक कुमारलाई समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







