हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टले स्नातक तह अध्ययनरत विद्यार्थीलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी हस्तान्तरण गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा उद्यम तथा व्यवसाय प्रवर्द्धन गर्ने कम्पनी द एड मेकर्सलाई १० लाख रुपैयाँ बीउ पुँजीमध्ये दोस्रो किस्ताबापत ४ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो।
विद्यार्थीलाई उद्यमशीलताको प्रेरणा
म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले द एड मेकर्सका सञ्चालक तथा वाणिज्य संकायमा स्नातक तृतीय वर्षमा अध्ययनरत सक्षम ज्ञवालीलाई ४ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्। यसअघि पनि ज्ञवालीलाई १ लाख ५० हजार रुपैयाँ बीउ पुँजी दिइएको थियो। आगामी दुई महिनापछि थप ४ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिनेछ।
प्रिन्सिपल जोशीका अनुसार विश्वविद्यालय अनुदान आयोग (UGC) मार्फत प्राप्त बीउ पुँजी विद्यार्थीलाई हस्तान्तरण गरिएको हो। विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा प्रेरित गर्न म्यानेजमेन्टले ‘ओपन इनोभेसन हव’ स्थापना गरी सञ्चालन गरिरहेको छ।
‘द एड मेकर्स’को व्यवसायिक प्रगति
द एड मेकर्सले १०० भन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिसकेको छ भने २० जना नियमित सेवाग्राही छन्। हालसम्म कम्पनीमा १२ लाख ७६ हजार रुपैयाँ लगानी भइसकेको छ। बीउ पुँजीको सहयोगले व्यवसाय विस्तार गर्न र कम्पनीको कार्यालय व्यवस्थापनमा मद्दत पुग्ने सञ्चालक ज्ञवालीले बताए।
विद्यार्थीलाई व्यवसायिक मार्गदर्शन
स्कुलको रणनीति तथा नवप्रवर्तन विभाग प्रमुख दिपेश खनालका अनुसार सक्षम जस्तै अन्य विद्यार्थीहरू पनि व्यवसाय तथा उद्यममा सक्रिय छन्। प्रिन्सिपल जोशीले विद्यार्थीलाई उद्यमशीलता र नवप्रवर्तनमा संलग्न गराउन बीउ पुँजी उपलब्ध गराइएको उल्लेख गरे।
विश्वविद्यालय अनुदान आयोगले निजी शैक्षिक संस्थामार्फत बीउ पुँजी वितरण नगर्ने नीति रहेको भए पनि, हेटौंडा स्कुल अफ म्यानेजमेन्टले विशेष अनुरोध गर्दै विद्यार्थीलाई सहयोगको व्यवस्था मिलाएको छ। पहिलो किस्ताबापत म्यानेजमेन्टले १७ लाख १० हजार रुपैयाँ प्राप्त गरेको छ।








