हेटौंडा/ प्रेस चौतारी नेपाल मकवानपुरले संगठनको केन्द्र र प्रदेश समितिमा प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरूलाई बधाई दिँदै वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बिहीवार आयोजित कार्यक्रममा बधाई पत्र वितरणसहित शुभकामना प्रदान गरिएको हो।
केन्द्रीय समितिमा सर्वसम्मत चयन भएका शिवकुमार रिजाल, पुष्प अधिकारी तथा आयोग सदस्य उज्वल अधिकारी र आरती ढकाललाई सम्मान गर्दै बधाई दिइएको थियो।

त्यस्तै, बागमती प्रदेश कमिटीमा महासचिव प्रकाश दाहाल, कोषाध्यक्ष रामशरण दुलाल र सदस्यहरू विवश अधिकारी, रुपक कालीराज, रविन ढुंगाना र सुनिता विष्टलाई पनि बधाई पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा सञ्चारिका समूह बागमती प्रदेशमा चयन भएकी नानीमाया सापकोटा तथा मकवानपुरमा अध्यक्ष बनेकी निशा गुरुङलाई पनि बधाईसहित सम्मान गरिएको थियो।

कार्यक्रममा प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहालले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामा पत्रकार भवन निर्माणका लागि जग्गा खोजी र भवन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। साथै, पत्रकारको सम्मान र पुरस्कारका लागि अक्षय कोष स्थापनाको योजना सार्वजनिक गरिएको छ।
साथै, दुर्घटना वा गम्भीर उपचार आवश्यक हुने अवस्थामा चौतारीकर्मीलाई सहयोग गर्न ‘चौतारी उपचार कोष’ स्थापना गर्ने योजना रहेको छ।

कार्ययोजनाअनुसार जिल्ला पार्टीको सहयोगमा अनलाइन पत्रिका सञ्चालन गरिनेछ र उक्त पत्रिका भावी नेतृत्वलाई हस्तान्तरण गरिनेछ।
पत्रकार महासंघको सदस्यता वृद्धि गर्दै महासंघमा चौतारीको बलियो उपस्थिति बनाउने र पार्टीको मिसन ८४ मा योगदान पुर्याउने लक्ष्य समेत कार्ययोजनामा उल्लेख गरिएको छ।
त्यस्तै, प्रत्येक ६ महिनामा चौतारीकर्मीको लेखन र पार्टी प्रचारमा दिएको योगदानको समीक्षा गरी प्रोत्साहन र सम्मान गरिनेछ।
कार्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक फर्निचर तथा उपकरण जस्तै कार्पेट, टेबल-कुर्सी, कम्प्युटर, प्रिन्टर, पंखा, दराज आदिको व्यवस्थापन गर्न समन्वय र सहजीकरण गरिने योजना पनि सार्वजनिक गरिएको छ।
अध्यक्ष दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिव सिता विष्ट, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरी हुमागाईं, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिति थियो।










