हेटौंडा/नेपाल मोबाइल व्यवसायी महासंघको चौथो केन्द्रीय साधारणसभा वैशाख २६ र २७ गते हेटौंडामा आयोजना हुने भएको छ। बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो।
मोबाइल एसोसिएसन अफ नेपाल मकवानपुरको संयोजनमा हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा हुने साधारणसभाको उद्घाटन वैशाख २७ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गर्नुहुने छ। केन्द्रीय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक छतेन्द्र आचार्यका अनुसार उद्घाटन दिन बिहान ७ बजे प्रभातफेरीको समेत आयोजना गरिएको छ।
साधारणसभा स्थल बाहिर विभिन्न मोबाइल ब्रान्ड र एक्सेसरिज कम्पनीका ११ वटा स्टल राखिने कार्यक्रम संयोजक आचार्यले जानकारी दिनुभयो। कार्यक्रम आयोजना गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ।
नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईका अनुसार साधारणसभा मोबाइल व्यवसायसँग सम्बन्धित कानूनी चुनौती, समाधानका उपाय, अस्वाभाविक बजार प्रतिस्पर्धा तथा प्रविधिमा आधारित व्यवसायिक अवसर र चुनौतीहरूमा केन्द्रित हुनेछ।
पत्रकार सम्मेलनमा महासंघ बागमती प्रदेश अध्यक्ष एसिस रिजाल, मधेश प्रदेश अध्यक्ष मोहन कार्की, म्यान मकवानपुर अध्यक्ष हरिप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो।