हेटौंडा/हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले विकास जनताको लागि भएकाले त्यसमा जनताको सक्रिय सहभागिता र अपनत्व अत्यावश्यक हुने बताएका छन्।
वडा कार्यालयद्वारा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिग्देलले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा–संस्कृतिको प्रवर्द्धन, वातावरण संरक्षण तथा सामाजिक अभियानहरूमा प्राथमिकता साथ काम भइरहेको जानकारी दिए।
“४ नम्बर वडा नगरको मुटु हो,” अध्यक्ष सिग्देलले भने, “त्यसैले नगरमै प्रतिनिधिमूलक कार्य अगाडि बढाउन हामी सधैं अग्रसर छौं।”
कार्यक्रममा सहभागीहरुले वडा कार्यालयले गरेका कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी काम अघि बढाउन सुझाव दिएका थिए। उनीहरूले विकासलाई चैतर्फी ढंगले अघि बढाउन सहकार्य र साथ दिने प्रतिबद्धता जनाएका छन्।
वडा सदस्य गीता त्रिपाठीको अध्यक्षतामा सम्पन्न भेलामा समाजसेवी प्रदीप कोइराला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी लगायत ९ वटा टोल विकास संस्थाका अध्यक्षहरू तथा स्थानीयवासीको उपस्थिति थियो।
उक्त भेलामा वडा कार्यालयको हालसम्मको कार्यको समीक्षा गरिएको साथै आगामी कार्ययोजनाका लागि सुझाव संकलन गरिएको थियो। बाँकी १७ वटा टोल विकास संस्थाहरूको भेला बैशाख २९ गते हुने वडा सचिव रामप्रसाद गुरागाईंले जानकारी दिए।
अहिलेसम्म सहभागी भएका टोल विकास संस्थाहरूमा गर्दोही, लक्ष्मी, चिल्ड्रेन पार्क, चिसापानी, हरियाली, प्रतिभानगर, प्रजातान्त्रिक, बीरेन्द्र नगर र श्रद्धानगर रहेका छन्।








