हेटौंडा उपमहानगरपालिका–२, संगमचोकस्थित ज्ञानोदय बालबाटिका एकेडेमीमा विद्यालय क्याप्टेन, भाइस क्याप्टेन र हाउस क्याप्टेन चयनका लागि संसदीय निर्वाचनको झल्को दिनेगरी विधिवत मतदान सम्पन्न गरिएको छ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रितेशकुमार कलवारका अनुसार सामाजिक शिक्षामा विद्यार्थीले पढ्ने निर्वाचन प्रक्रियाको व्यवहारिक अभ्यास गराउन यस्तो कार्यक्रम गरिएको हो। विद्यार्थीबीच नेतृत्व विकास, प्रतिस्पर्धात्मक भावना र विषयगत ज्ञान अभिवृद्धि गर्न निर्वाचन प्रक्रिया अवलम्बन गरिएको उनले बताए।
यसअघि विद्यालय प्रशासनले नै क्याप्टेन चयन गर्दै आएकोमा यस वर्षदेखि पूर्ण निर्वाचन प्रणालीमार्फत प्रतिनिधि चयन गरिएको हो। आइतबार सम्पन्न निर्वाचनमा छात्र क्याप्टेनमा कक्षा ९ का निमेश आचार्य १७९ मतसहित विजयी भए भने छात्रा क्याप्टेनमा जमुना ढुंगाना १५३ मत प्राप्त गरी निर्वाचित भइन्। निकटतम प्रतिस्पर्धी सुवास घलानले ९२, प्रविसा ढकालले ९३ र नुरमा राणाले २३ मत प्राप्त गरेका थिए।

भाइस क्याप्टेनमा छात्रतर्फ कक्षा ८ का राजबिर बानियाँ १०६ मतसहित विजयी हुँदा छात्रातर्फ सुप्रिमा श्रेष्ठले १६६ मत प्राप्त गरिन्। अन्य उम्मेदवार समिप सिंहले ७५, आवेश उप्रेतीले ५६, संस्कार बानियाँले ३४ र आर्जु खातुनले १०५ मत प्राप्त गरे।
निर्वाचन अधिकृत अनिता न्यौपानेका अनुसार कक्षा ६ देखि १० सम्मका २८५ विद्यार्थीले मतदानमा भाग लिएका थिए। उम्मेदवारी दर्ता, दाबी–विरोध, प्रचार–प्रसार, मौन अवधि र मतदानका सम्पूर्ण प्रक्रियामा विद्यार्थीलाई संलग्न गराइएको थियो।
यसै निर्वाचनबाट विद्यालयका चार हाउस (रेड, ब्लु, यल्लो र ग्रिन) का क्याप्टेन तथा भाइस क्याप्टेनहरू पनि चयन गरिएको छ।
विद्यार्थीहरूले आफना योजना प्रस्तुत गर्दै प्रचार अभियान चलाएका थिए। विद्यालय परिसरमा बनाइएका चार मतदान केन्द्रमार्फत मतदान गराइएको थियो। निर्वाचन व्यवस्थापनमा शिक्षक भीम प्रधान, करुणा थापा, भाग्य श्रेष्ठ, रमेश थापा, सुमिना थापा, आषिश सुवेदी, अञ्जली प्रधान लगायतको सक्रिय सहभागिता थियो।

निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई विद्यालयका कार्यवाहक प्रिन्सिपल अनिरुद्र धमला र सञ्चालक सञ्जय सुवेदीले जिम्मेवारी हस्तान्तरण गरेका थिए।








