हेटौंडा/ राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको आयोजनामा संघको ३६औं स्थापना दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ।
संघका मकवानपुर जिल्ला अध्यक्ष राजेश नगरकोटीका अनुसार अस्पतालमा भर्ना भएका करिब १५० जना बिरामीहरूलाई फलफूल तथा पानी वितरण गरिएको हो।
सो अवसरमा संघका केन्द्रीय लेखा समिति अध्यक्ष सन्तोष चौलागाईंले युवाहरूमा नविनता, सृजनशीलता र गतिशीलता आवश्यक रहेको बताउँदै, नेकपा एमाले मात्रै जनतासँग सधैं रहने पार्टी भएको दाबी गरे। “अस्पताललाई स्रोत साधनले सम्पन्न बनाउन हामी निरन्तर अघि बढ्नेछौं,” उनले भने।
उनले युवा वर्गको जोश, जागर र ऊर्जा सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा सृजनात्मक रूपमा प्रयोग गर्दै समाजमा सकारात्मक गतिशीलता ल्याउनु आवश्यक रहेको धारणा राखे। साथै, एमालेको संगठन कुनै पनि अराजक गतिविधिमा सहभागी नहुने उनले स्पष्ट पारे।
कार्यक्रममा पार्टी उपसचिव आरती पाठकले बिरामीहरूको स्वास्थ्यलाभको कामना गर्दै भनिन्, “प्रतिष्ठानको नाम मेट्ने भन्दा पनि बिरामीको अवस्था बुझ्नु ठूलो काम हो। हामी अस्पतालको सुधारतर्फ पनि ध्यान दिइरहेका छौं।”
स्थापना दिवसको अवसरमा आज साँझ ६ बजे हेटौंडा उपमहानगरपालिका–४ स्थित शीतल महल चोकमा दिप प्रज्वलन कार्यक्रमको पनि आयोजना हुने जिल्ला अध्यक्ष नगरकोटीले जानकारी दिए।








