हेटौंडाको तिरतिरेधारानजिक वाल निर्माण गर्ने क्रममा खानेपानीको पाइपमा क्षति पुगेको छ, जसका कारण पानी वितरण सेवा प्रभावित भएको छ।
हेटौंडा उपमहानगरपालिका–१ स्थित तिरतिरेधाराबाट करिब १०० मिटर उत्तरतर्फ सडक डिभिजन कार्यालयमार्फत सामरी खोलासम्म रिटेनिङ वाल निर्माण गर्ने क्रममा १४ इन्चको करिब १५ मिटर लम्बाइको डिआई पाइप क्षतिग्रस्त भएको हो।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार, यस क्षतिका कारण आज साँझदेखि भोली बिहानसम्म खानेपानी वितरण पूर्ण रूपमा बन्द हुने भएको छ। बोर्डको प्रमुख स्रोत सामरी समवेल र बुङ्गदल मुहानबाट आपूर्ति हुने पानी वितरण प्रणालीमा अवरोध आएको उनले बताए।
सूचना अधिकारी संजय कुमार न्यौपानेका अनुसार, हरिकुञ्ज पानी ट्यांकीबाट वितरण हुने क्षेत्रमा पर्ने हेटौंडा नगरको मुख्य बजार क्षेत्रमा पानी आपूर्ति अस्थायी रूपमा रोकिएको छ। क्षति भएको पाइपको मर्मत कार्य तीव्र गतिमा भइरहेको जानकारी दिइएको छ।








