हेटौँडा/ अत्यधिक भार वहन गर्ने सवारीसाधनका कारण मुलुकभर राजमार्ग भासिने र पुल भाँचिने समस्या बढ्दै गएपछि नारायणी यातायात व्यवसायी कम्पनी प्रालि, हेटौंडाले यसतर्फ गम्भीर ध्यानाकर्षण गराएको छ।
कम्पनीले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक यातायातमा देखिएको संकटप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई समस्या समाधानका लागि पहल गर्न आह्वान गरेको हो। कम्पनीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारा स्थित गिरुवारी खोलाको पुल तथा इलामको फिक्कल–नयाँ बजार सडक खण्डको मयुँ खोलाको पुल भाँचिएर यातायात प्रभावित भएको घटनालाई स्मरण गराउँदै यस्ता समस्या दोहोरिन नदिन प्रभावकारी कदम चाल्न आग्रह गरेको हो।
कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले क्षमताभन्दा बढी भार बोकेका गाडीहरूको कारण पुलहरू भाँचिने, राजमार्ग भासिने जस्ता समस्या उत्पन्न भएको भन्दै यात्रु तथा ढुवानी सवारी साधनमा अवरोध र आर्थिक क्षति भइरहेको जानकारी दिए।
कार्यकारी सञ्चालक माधव अधिकारीले देशभरका अधिकांश पुलहरू पुराना भई हालको सवारी चाप थेग्न नसक्ने अवस्था सिर्जना भएको बताए। उनका अनुसार पूर्व–पश्चिम राजमार्ग निर्माणको समयमा बनेका पुलहरूको भार क्षमता हालको आवश्यकता अनुसार छैन।
पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका प्रमुख माग तथा सुझावहरू:
पुलहरूको क्षमता वृद्धि तथा मर्मत: पुराना तथा जीर्ण पुलहरूको प्राविधिक परीक्षण गरी आवश्यकतानुसार स्तरोन्नति, मर्मत वा पुनर्निर्माण गरिनु पर्दछ।
भारवहन क्षमताको कडाइका साथ पालना: सवारी साधनले तोकिएकोभन्दा बढी भार बोकेको पाइएमा कडा कारबाहीको व्यवस्था गरिनुपर्छ।
तौल पुलको प्रभावकारिता: हाल देशभर रहेका १३ तौलपुल प्रभावकारी रुपमा सञ्चालनमा ल्याई सवारी साधनको भार नियन्त्रण गर्नुपर्ने माग गरिएको छ।
ढुवानीमा मूल्य अभिवृद्धि कर (VAT) को कार्यान्वयन: बिना VAT मा हुने ढुवानी रोक्न कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने वा त्यस्तो कानून खारेज गर्नुपर्ने माग गरिएको छ।
राजमार्ग सुरक्षाको सुनिश्चितता: भासिएको वा क्षति पुगेको स्थानको नियमित अनुगमन र तत्काल मर्मत गरी सुरक्षित यातायात सुनिश्चित गर्नुपर्ने कम्पनीको भनाइ छ।
जनचेतना अभिवृद्धि: सवारी चालक र व्यवसायीहरूलाई भारवहन सम्बन्धी नियमप्रति सचेत गराउन जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ।
कम्पनीले भविष्यमा यस्ता घटनाबाट हुने जनधनको क्षति तथा यातायात अवरोध न्यूनीकरणका लागि सरकार, सम्बन्धित निकाय र सम्पूर्ण व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै मापदण्ड विपरीतको कार्य नगर्न/नगराउन सबै व्यवसायीलाई आग्रह गरेको छ।








