हेटौंडा/हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाइएको छ। समारोहमार्फत विगत १२ वर्षको सेवा, विकास र चुनौतीहरूको समिक्षा गर्दै भावी योजनाहरू सार्वजनिक गरिएका छन्।
वार्षिकोत्सव समारोहका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले, नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह र विकास निर्माणमा राजनीतिक नेतृत्व तथा प्रशासन गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। “सहज सेवा प्रवाह, सुशासन र पारदर्शिताका लागि राज्यका संरचनाबीच समन्वय अपरिहार्य छ,” उहाँले भन्नुभयो।
नगरप्रमुख लामाले उपमहानगरपालिकाले विपन्न वर्गसम्म न्यूनतम महशुलमा खानेपानी पुर्याउँदै अधिकार सुनिश्चितताका लागि बोर्डमार्फत पहल गरिरहेको जानकारी दिनुभयो। संघ, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा खानेपानी स्रोतको पहिचान, व्यवस्थापन तथा संरचना निर्माणमा निरन्तर प्रयास भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो।
बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौंडा बजार क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाउन स्रोत व्यवस्थापन, संरक्षण तथा विस्तारमा योजनावद्ध ढंगले काम भइरहेको जानकारी दिनुभयो। पछिल्लो समय पानीका मुहान सुक्दै गएकाले रिचार्ज पोखरी निर्माण योजनाको काम अघि बढाइएको उहाँको भनाइ थियो।

कार्यक्रममा उत्कृष्ट सेवा पुर्याउने कर्मचारी, नियमित र उच्च महशुल तिर्ने ग्राहक, पानी चुहावटबारे सूचना दिने व्यक्तिहरू तथा स्वयंसेवी रुपमा योगदान गर्ने उपभोक्तालाई सम्मान गरिएको छ। सम्मानित कर्मचारीमा सब–इन्जिनियर प्रविण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठ सहायकहरू दीपिका केसी र श्रृजना अर्याल, मिटर रिडरहरू सृजना पुलामी, प्रकाश श्रेष्ठ लगायत अन्य कर्मचारीहरू समावेश थिए।
त्यस्तै, नियमित महशुल तिर्ने संस्थागत तथा व्यक्तिगत उपभोक्ताहरू हेटौंडा सामुदायिक आँखा अस्पताल, तुलसीराम लामिछाने, महेशदेव भट्टराई, प्रेम बहादुर कार्की, प्रकाश पुरी, लक्षबहादुर थपलिया र राजु शिवाकोटीलाई सम्मान गरिएको छ। पानी चुहावटबारे सूचना दिने श्याम रिमाल, बद्री दाहाल, हर्क रम्तेल, रामबहादुर दुलाल, सुनिल शिवाकोटी लगायतलाई पनि प्रशंसा गरिएको छ।
यसैबीच, शक्तिडाँडा, घ्याम्पेडाँडा र जरुङ्गडाँडामा स्वयंसेवी रुपमा पानी ट्याङ्की सञ्चालन गर्दै आएका व्यक्तिहरू तथा मयूरधाप उपभोक्ता समितिका अध्यक्ष गोपाल बहादुर थपलियालाई समेत सम्मान गरिएको छ।

बोर्डका अनुसार हाल ६२८ किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ र दैनिक झण्डै ३ करोड ७० लाख लिटर पानी वितरण हुँदै आएको छ। हाल ५ वटा स्रोतमार्फत पानी संकलन भइरहेको छ भने २ वटा प्रशोधन केन्द्र सञ्चालनमा छन्।
बोर्डले आगामी दिनमा नयाँ प्रशोधन केन्द्र निर्माण, पाइप विस्तार, चुहावट नियन्त्रण, गुनासो व्यवस्थापन तथा सेवा गुणस्तर सुधारमा जोड दिने योजना सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षमा संघीय सरकारको सहलगानीमा १५ करोड लागतमा ओभरहेड र भूमिगत टंकी निर्माण, डिप बोरिङ्ग, पाइपलाइन विस्तार तथा विद्युतीकरण कार्य सम्पन्न भएको छ। अपूरो योजना पूरा गर्न बोर्डले अतिरिक्त ३ करोड लगानीसमेत गरेको छ।
प्रदेश सरकारसँगको सहकार्यमा समवेल, भूमिगत टंकी र २० किलोमिटर पाइप विस्तार सम्पन्न भएको छ। हालसम्म १६ वटा उपभोक्ता समितिबाट पूर्वाधार हस्तान्तरण गरी ९,५०० घरधुरीमा सेवा विस्तार गरिएको छ।
मर्मत र संभारका लागि करिब ७० लाख खर्च गरिएको जानकारी दिँदै बोर्डले थानाभऱ्याङ्ग सिमलटार, गढी गाउँपालिका–४ सामरी लगायत क्षेत्रमा पनि पूर्वाधार विकासका काम तीव्र रूपमा अगाडि बढाइरहेको जनाएको छ। साथै, पानी परीक्षणशालालाई स्तरीय बनाउने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष विष्टले जानकारी दिनुभयो।







