हेटौंडा उपमहानगरपालिका–१० मा अवस्थित तुलसी मेहर मेमोरियल सेकेन्डरी स्कुलको आयोजना नवआगन्तुक विद्यार्थी तथा उनीहरूका अभिभावकलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यालय परिवारले नयाँ भर्ना भएका विद्यार्थी तथा अभिभावकहरूलाई विशेष रूपमा स्वागत गरेको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले अभिभावकहरूलाई आफ्ना बालबालिकाको शैक्षिक प्रगति तथा गतिविधिको निगरानीमा रहन आग्रह गर्दै विद्यालयसँग नियमित समन्वय गर्न सुझाव दिनुभयो। उहाँले डिजिटल युगमा विद्यालयले पेपरलेस प्रणालीलाई प्राथमिकता दिइरहेको जानकारी दिँदै घरमै बसेर विद्यार्थीको उपस्थिति, नतिजा, शुल्क विवरण लगायत सबै जानकारी अभिभावकले मोबाइल एप ‘App’ मार्फत पाउन सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।
उहाँले थप्दै भन्नुभयो, “आजको डिजिटल समयमा इन्टरनेटको पहुँच प्रायः सबै अभिभावकसँग भएकाले घरबाटै विद्यालयसँग सम्पर्क राख्न, गुनासो गर्न तथा बालबालिकाको गतिविधि नियाल्न सकिन्छ। अभिभावक नै घरको पहिलो शिक्षक भएकाले उनीहरूको संलग्नता अत्यन्तै आवश्यक छ।”
विद्यालयले विद्यार्थीको मासिक शुल्क भुक्तानी, परीक्षा नतिजा, गृहकार्य तथा अन्य जानकारी सहज रूपमा प्राप्त गर्न डिजिटल क्युआर प्रणालीको पनि प्रयोग सुरु गरेको जनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष आषिश श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक खरालसँगै सहायक प्रधानाध्यापक कमल नेपाल, व्यवस्थापन समिति सदस्य अन्जला शर्मा, गोपी भण्डारी, माध्यमिक तह संयोजक देवेन्द्र चापागाईं, निम्न माध्यमिक तह संयोजक शुभद्रा सापकोटा, प्रावि संयोजक पुष्पा काफ्ले लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले स्वागत मन्तव्यका साथै सांस्कृतिक नृत्य प्रस्तुत गरी माहोल झनै आकर्षक बनाएका थिए।









