हेटौंडा/दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कार्यरत नेपाली श्रमिकका परिवारलाई लक्षित गरी वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम हेटौंडामा आयोजना गरिने भएको छ।
आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक घोषणा गरिएको हो। उक्त कार्यक्रम आगामी जेठ १६ गते बिहान १०:३० बजे हेटौंडा–१० स्थित रोयल पार्टी प्यालेसमा सञ्चालन हुने बताइएको छ।
कार्यक्रममा कोरियामा रहेका श्रमिकका आमाबुवा, जीवनसाथी र अन्य नजिकका परिवार सदस्यहरूलाई लक्षित गरी वित्तीय व्यवस्थापन, मानसिक स्वास्थ्यको महत्व, सामाजिक सशक्तिकरणलगायतका विषयमा जानकारी र परामर्श प्रदान गरिनेछ।
कार्यक्रम नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कोरियन सहयोग नियोग (KOICA), अङ्कुर नेपाल, तथा K-HaMi परियोजनाको संयुक्त पहलमा आयोजना हुन लागेको हो।
पत्रकार सम्मेलनमा अङ्कुर नेपाल हेटौंडा सम्पर्क समितिका अध्यक्ष किशोर डंगोलले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिँदै यो EPS श्रमिकका परिवारलाई लक्षित गरी हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको उल्लेख गर्नुभयो। सञ्चारकर्मीहरूको सहयोग र प्रचारप्रसारले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
त्यस्तै, समितिका सचिव माधव सापकोटाले कार्यक्रममा सहभागिताका लागि कोरियामा कार्यरत श्रमिकका अभिभावक, जीवनसाथी तथा परिवारका सदस्यलाई प्राथमिकता दिइने बताउनुभयो। उहाँले गाउँ–सहरका कुनाकुनासम्म जानकारी पुर्याउने उद्देश्यले सञ्चारको साथ अपरिहार्य हुने उल्लेख गर्नुभयो।







