हेटौँडा/ बागमती प्रदेशको राजधानी हेटौँडामा आज नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ को समीक्षा तथा मानव अधिकारको समग्र अवस्थामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा प्रहरी प्रशासन, पत्रकार, नागरिक समाज र विभिन्न निकायका प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।

मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विश्व खड्का प्रमुख अतिथिको रुपमा सहभागी रहेका उक्त कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले वर्षपुस्तकमाथि टिप्पणी प्रस्तुत गरेका थिए भने पत्रकार प्रताप विष्टले समीक्षात्मक दृष्टिकोण राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी खड्काले नेपाल प्रहरी र इन्सेकबीचको पुरानो सहकार्य स्मरण गर्दै मानव अधिकार संरक्षणमा प्रहरी संवेदनशील रहेको धारणा राखे। उनले भने, “८० हजार प्रहरीमध्ये केहीले भावनामा बहिएर गल्ती गरे पनि ती घटनामा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ।”

उनले जातीय विभेदका घटना बढ्दो क्रममा रहेको उल्लेख गर्दै यस्ता घटनाविरुद्ध सबैले मिलेर आवाज उठाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा इन्सेक बागमती संयोजक गणेश भण्डारीले प्रदेशस्तरीय मानव अधिकार अवस्थाको तथ्यांक प्रस्तुत गर्दै २०७९ माघदेखि २०८१ असारसम्म बागमतीमा २,१७७ वटा मानव अधिकारसम्बन्धी घटना दर्ता भएको जानकारी दिए। तीमध्ये ५ सयभन्दा बढी घटना साइबरसम्बन्धी रहेको उल्लेख गरियो।

कार्यक्रममा मकवानपुरकी गैरसरकारी संस्था अध्यक्ष रमिला सापकोटा, पत्रकार महासंघ बागमती उपाध्यक्ष हरी हुमागाई, प्रदेश सरकारका विभिन्न मन्त्रालय प्रतिनिधि, पत्रकार, नागरिक समाजका सदस्य लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
छलफलले बागमती प्रदेशमा मानव अधिकारको समसामयिक अवस्थामाथि बहस गर्ने र आगामी दिनमा सुधारका प्रयासलाई थप सशक्त बनाउने भण्डारीले जानकारी दिए।








