हेटौंडा/ नवोदयको आयोजनामा यही जेष्ठ १५, १६ र १७ गते मोडेल युनाइटेड नेशन्स (MUN) कार्यक्रम हुने भएको छ। तीनदिने कार्यक्रमले देशभरका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, मानव अधिकार, जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षा, शान्ति र सुरक्षा जस्ता विषयमा संवाद गर्ने अवसर दिनेछ।
MUN अन्तर्राष्ट्रिय अभ्यासमा आधारित एक शैक्षिक र वैचारिक कार्यक्रम हो, जसमा विद्यार्थीहरूले संयुक्त राष्ट्रसंघका प्रतिनिधिका रूपमा भाग लिँदै विश्वका जटिल समस्याहरूको समाधानको अभ्यास गर्छन्।
यस वर्षको नवोदय MUN मा विश्व स्वास्थ्य संगठन (WHO), सुरक्षा परिषद् (UNSC), मानव अधिकार परिषद् (UNHRC), विकास कार्यक्रम (UNDP), श्रम संगठन (ILO), बाल कोष (UNICEF) र वातावरण कार्यक्रम (UNEP) लगायत संयुक्त राष्ट्रसंघका सात निकायमा आधारित छलफल हुनेछ। एजेन्डाहरूमा किशोर स्वास्थ्य, आणविक निशस्त्रीकरण, द्वन्द्वग्रस्त क्षेत्रमा मानव अधिकार, गरिबी उन्मूलन, बाल अधिकार संरक्षण र विकिरण प्रदूषणजस्ता मुद्दाहरू समेटिनेछन्।
कार्यक्रमको दोस्रो दिन ‘सोसल नाइट’ आयोजना गरिनेछ, जसमा सहभागीलाइ नृत्य, खेलकुद, फोटोबुथ, डिनर र अन्य रमाइला गतिविधिहरूको माध्यमबाट आपसी चिनजान र नेटवर्क विस्तारको अवसर प्रदान गरिनेछ।
नवोदयसँगै मकवानपुरको बाल विद्या सदन र कमाने एकेडेमी, नवलपरासीको आरम्भ एकेडेमी, बुटवलको एपेक्स विद्यालय, रौतहटको नेपाल पुलिस स्कूल, पोखराको लर्नर एकेडेमी र चितवनको इन्टरनेशनल स्कूलले सहभागिता जनाउने पक्का भएको छ।

कार्यक्रमका महासचिव निकेश श्रीवास्तवले बताएअनुसार, “यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, विचार प्रस्तुत गर्ने क्षमता, सहकार्यको भावना, समालोचनात्मक सोच र अन्तर्राष्ट्रिय समझदारी अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।”








