विश्व वातावरण दिवस २०८२ को अवसरमा हेटौंडा उपमहानगरपालिका–९ मा “प्लास्टिकका बोत्तलसँग फलफूलको बिरुवा साट्ने अभियान” सोमबार सम्पन्न भएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको सो अभियान टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा वडा नं. ९ को टोल विकास संस्था समन्वय समिति र पशुपति हेल्थ क्लबको संयोजनमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले गर्नुभयो भने हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथि रहनुभयो। प्रमुख अतिथि लामाले अभियानलाई “रचनात्मक र प्रभावकारी” भन्दै प्रशंसा गर्नुभयो। उहाँले यस्तो कार्यक्रम अन्य वडामा पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नगरपालिकाको तर्फबाट आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रयोग भइसकेका प्लास्टिक बोत्तलहरू संकलन गरी, ५ वटा बोत्तल साटोमा १ वटा फलफूलको बिरुवा प्रदान गरिएको थियो। आँप, अम्बा, अमला, लिची, कागती लगायतका फलफूलका बिरुवा वितरण गरिएको कार्यक्रममा २२० जना नागरिक सहभागी भएका थिए।
स्थानीय टोल विकास संस्था, महिला समूह, युवा क्लब र सामाजिक संघसंस्थाहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले बताएका छन्। अध्यक्ष अधिकारीका अनुसार, “यो अभियान केवल फोहोर संकलन नभई वातावरणप्रतिको सचेतना र दिगो भविष्यप्रतिको हाम्रो प्रतिबद्धताको उदाहरण हो।”

संकलित प्लास्टिक बोत्तलहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरी पुनः प्रयोगयोग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिइएको छ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि २० गते बिहान ११ बजे “जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भुमिका र हाम्रो प्रयास” विषयक प्यानल छलफल तथा फिल्म स्क्रिनिङ कार्यक्रम आयोजना गरिनेछ। त्यसै दिन साँझ ४:३० बजे हेटौंडा–८ स्थित चन्द्रोदय माविमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो।








