“जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” विषयक प्यानल छलफल कार्यक्रम हेटौंडामा सफलतापूर्वक सम्पन्न भएको छ। जलवायु परिवर्तनसम्बन्धी समस्या, समाधान र स्थानीय सहभागिताका विविध आयाममाथि छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले जलवायु संकट समाधानमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरिन्। “हामी वातावरणमैत्री नीतिहरू निर्माण गरिरहेका छौं, तर ती नीतिहरू प्रभावकारी बनाउन समुदायस्तरको संलग्नता अत्यन्त आवश्यक छ,” उनले भनिन्।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण र हरियाली प्रवर्द्धनमा समुदायको योगदानबारे जानकारी दिँदै भने, “हामी ‘प्लास्टिक मुक्त हेटौंडा २०८२’ को लक्ष्यसहित अघि बढिरहेका छौं, यसमा सबैको साझा प्रयास आवश्यक छ।”
कार्यक्रममा वातावरणविद् डा. बलराम भट्टले जलवायु परिवर्तनको वैज्ञानिक पाटो उजागर गर्दै शिक्षा, प्रविधि र समुदायबीचको सहकार्यलाई दीगो समाधानको आधारका रूपमा प्रस्तुत गरे। त्यस्तै, ग्रिन एन्ड क्लिन सिटी सर्भिसेजका प्रमुख नवराज खतिवडाले निजी क्षेत्रको अनुभव सुनाउँदै फोहोरमैला व्यवस्थापनका व्यवहारिक चुनौतीहरू र सम्भावित समाधानबारे धारणा राखे।
सहभागीहरूले स्थानीय जलवायु प्रभाव, नीति कार्यान्वयनका चुनौती, सार्वजनिक–निजी समन्वय र युवाको भूमिकाबारे जिज्ञासा राख्दै सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए।
सरोकारवाला निकाय, स्थानीय सरकार, विज्ञ तथा निजी क्षेत्रबीचको सहकार्यद्वारा हेटौंडालाई वातावरणमैत्री र जलवायु-संवेदनशील शहरका रूपमा विकास गर्न सकिने निष्कर्ष कार्यक्रममा निकालिएको छ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निर्देशक डा. भिम प्रसाद तिमल्सिना, वातावरण इञ्जिनियर चन्दा खड्का, जिवन शर्मा लगायत ७० जनाभन्दा बढीको उपस्थिति रहेको थियो। कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रमको सहजीकरण अनन्त कुमार बाँनियाले गरेका थिए।








