हेटौंडा/ जेसीआई हेटौंडाको आयोजनामा सोमबार हेटौंडा उपमहानगरपालिका–९ मा रहेको श्री त्रिवेणी आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम जेसी आँसु बानियाँको संयोजकत्वमा सम्पन्न भएको हो भने जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँको सभाध्यक्षतामा आयोजना गरिएको थियो।

कार्यक्रममा स्व. बिहारी लाल बानियाँको स्मृतिमा उनका सुपुत्र तथा जेसीआई हेटौंडा वर्ष २०२० का अध्यक्ष सिनेटर राजदेव बानियाँको सौजन्यमा कक्षा नर्सरीमा अध्ययनरत २५ जना विद्यार्थीहरूलाई टि-शर्ट, टाउजर, जुत्ता, मोजालगायतका पोशाक वितरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ९ का अध्यक्ष तथा जेसीआई हेटौंडाका मानार्थ सदस्य सुकराम केसी, विशिष्ट अतिथि सिनेटर विकेश लाल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक तथा जेसीआई हेटौंडा लेडी वर्ष २०२० की अध्यक्ष जेसी सुशिला पौडेल, वडा सदस्यहरू कमला पौडेल र बिष्णु राना लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा जेसीआई हेटौंडा वर्ष २०२५ का उपाध्यक्ष जेसी सन्तोष पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव जेसी संजय कुमार न्यौपानेले सञ्चालन गरेका थिए।

पोशाक वितरणकर्तासमेत रहेका सिनेटर राजदेव बानियाँले आफ्नो मन्तव्यमा आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका अतिथिहरुले शिक्षा र बालबालिकाको हितमा गरिएको योगदानप्रति प्रसंसा व्यक्त गर्दै यस्ता कार्यले विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका थिए।








