हेटौंडा सिटी कलेज र जेनिथ इन्टरनेशनल विद्यालयको संयुक्त आयोजनामा दोस्रो संस्करणको ‘ई–स्पोर्ट्स एरिना’ प्रतियोगिता साउन ७ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितासम्बन्धी जानकारी मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीका अनुसार प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पूरा भएको र एसईई परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। प्रतियोगिता तीन विधामा सञ्चालन हुने छ— फ्री फायर, पब्जी र ई–फुटबल। फ्री फायरमा ३६ स्लट, पब्जीमा १२ स्लट र ई–फुटबलमा ४० स्लट रहने बताइएको छ।
फ्री फायर र पब्जी खेलमा प्रत्येक टोलीमा एक जना ब्याकअपसहित ५ जना खेलाडी रहनेछ। प्रतियोगितामा जम्मा ४८ टोलीका करिब २८० जना खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ।
विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवालले जानकारी दिएअनुसार मकवानपुर जिल्लामा कलेज तहबाट पुरस्कार राशिसहितको ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गरिनु पहिलो पटक हो। कुल ५० हजार रुपैयाँ पुरस्कार राशिको यस प्रतियोगितालाई नेपालमै कलेजस्तरबाट आयोजना भएको सबैभन्दा ठूलो ई–स्पोर्ट्स इभेन्टको रूपमा दाबी गरिएको छ। युवा पुस्तामा बढ्दो ई–स्पोर्ट्सप्रतिको रुचिलाई प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको उनले बताए।
फ्री फायर विधामा प्रथम हुने टोलीले नगद ११ हजार रुपैयाँ, दोस्रोले ५ हजार ५ सय र तेस्रो टोलीले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी र फ्यान फेभरेट टिमलाई २/२ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
त्यस्तै, पब्जीमा प्रथम टोलीलाई ८ हजार ५ सय, दोस्रोलाई ४ हजार र तेस्रो टोलीलाई २ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय रुपैयाँको पुरस्कार दिइने छ।
ई–फुटबलतर्फ प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः ४ हजार, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। साथै, टप गोलकर्तालाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।
प्रतियोगिताको फाइनल खेल साउन ८ गते हुने छ।