वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले ग्रामीण भेगका जनताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरूलाई आवश्यक उपकरण उपलब्ध गराउने अभियान अघि बढाउनुभएको छ।
मन्त्री थापाले आधारभूत स्वास्थ्य सेवा सुनिश्चित नगरी प्रदेशको स्वास्थ्य क्षेत्रमा रूपान्तरण सम्भव नहुने बताउँदै स्वास्थ्य उपकरणलाई पहिलो प्राथमिकतामा राख्ने नीति ल्याउनुभएको हो। यसैअन्तर्गत सोमबार उहाँले सिन्धुपाल्चोकको दुर्गम पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभयो।
उहाँले गाउँपालिका अध्यक्ष टासी लामालाई अल्ट्रासाउन्ड मेसिन, ईसीजी मेसिन र विभिन्न औषधि बुझाउनुभएको हो। वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा उपकरण हस्तान्तरण गर्दै मन्त्री थापाले ग्रामीण जनतालाई गुणस्तरीय उपचार सेवामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
प्रदेश सरकारले आगामी दिनमा पनि ग्रामीण अस्पताल तथा स्वास्थ्य चौकीलाई प्राथमिकताका आधारमा अत्यावश्यक उपकरण उपलब्ध गराउने योजना अघि सारेको छ। ‘सहरमा मात्र स्वास्थ्य सेवा दिएर पुग्दैन, स्वास्थ्य सेवा सबै नागरिकको समान अधिकार हो,’ मन्त्री थापाको भनाइ छ।
यसअघि पनि स्वास्थ्य मन्त्रालयले विभिन्न दुर्गम गाउँका स्वास्थ्य चौकीमा सामग्री तथा जनशक्ति उपलब्ध गराउँदै आएको छ। मन्त्री थापाले स्वास्थ्य क्षेत्रमा देखिएको असमानतालाई न्यूनीकरण गर्दै ग्रामीण भूगोलका स्वास्थ्य संस्थालाई सुदृढ बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।







