मकवानपुरको थाहा नगरपालिकामा प्रस्तावित मोक्ष धाम निर्माणका लागि बागमती प्रदेश सरकारबाट एक करोड रुपैयाँ सुनिश्चित हुने भएको छ ।
आइतबार पालुङमा नगरपालिकाद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सो जानकारी गराउँदै थाहा नगरको विकासको प्रमुख आधार पर्यटन भएको उल्लेख गर्नुभयो । धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने योजनाअनुरूप चालु आर्थिक वर्षमै एक करोड रुपैयाँ उपलब्ध गराइने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री बानियाँ थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा सभामा प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो । सभाको अवसरमा उहाँले थाहा नगरलाई औपचारिक रूपमा सो उपाधि प्रदान पनि गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले महेन्द्र राजमार्गको मनहरी खण्ड हुँदै राक्सिराङ, कैलाश जोडेर थाहा नगरपालिका भएर काठमाडौं पुग्ने रुपचन्द्र विष्ट मार्गलाई साझा कार्यक्रमका रूपमा अघि बढाउन सके पर्यटन विकासमा ठूलो टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
थाहा नगरपालिकामा हाल सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा लिइरहेका छन् । मातृ तथा नवजात शिशु मृत्यु दर शून्यमा झरेको छ । स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार गत आर्थिक वर्षमा मात्रै ३५६ महिलाले सुरक्षित प्रसूति सेवा प्राप्त गरेका थिए । हाल नगरपालिकामा १२ वटा स्वास्थ्य संस्थाबाट नियमित मातृ–शिशु स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।
सभा थाहा नगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।