हेटौंडा/ तीज पर्वलाई केवल खानपान र रमाइलोमा सीमित नगरी सामाजिक उत्तरदायित्वसहित मनाउन प्रेस चौतारी मकवानपुरले विशेष पहल गरेको छ।
दर खाने दिनको बिहानै प्रेस चौतारी मकवानपुरका सदस्यहरू मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ स्थित दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थल पुगेका थिए। भेटघाट कार्यक्रमका क्रममा आमाबुबाहरुलाई फलफूल र आमाहरुलाई धोती प्रदान गरिएको थियो।

सो अवसरमा ज्येष्ठ नागरिकहरूले आफ्ना अनुभव, गुनासा र प्रेरणादायी कुरा व्यक्त गरेका थिए। साथै, उहाँहरूले दिनुभएको आशिर्वादले सञ्चारकर्मीहरूलाई थप हौसला, जोश र जिम्मेवारी बोध गराएको सहभागीहरूले बताएका छन्।

भेटघाटलाई सम्भव बनाउन सहयोग गर्ने आश्रमका संरक्षक केदार प्रसाद न्यौपाने, आश्रमलाई निरन्तर सम्हाल्दै आउनु भएकी सुनिता न्यौपाने, आश्रमका अध्यक्ष टीआर निरौला, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज पुष्पराज आचार्य, चौतारी बागमती प्रदेश महासचिव प्रकाश दाहाल, प्रदेश कमिटी सदस्य तथा जिल्ला पदाधिकारीहरूको सक्रिय भूमिका रहेको थियो।
प्रेस चौतारी मकवानपुरका पदाधिकारीहरूले यस प्रकारको भेटघाट कार्यक्रम आगामी दिनमा निरन्तरता दिने चौतारी मकवानपुरका अध्यक्ष सहित दाहालले प्रतिबद्धता जनाएका छन्।
आजको कार्यक्रम प्रेस चौतारी नेपाल मकवानपुरका कार्यसमिति सदस्य स्मिता अर्जेलको संयोजकतामा भएको थियो।









