हेटौँडा/बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा मनहरी गाउँपालिका–९ की विपन्न दलित एकल महिला मिठुमाया सुनारको घर निर्माण गरिदिने भएका छन् ।
सोमबार मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिकामार्फत घर निर्माणका लागि २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । पाँच वर्षअघि श्रीमान्को निधन भइसकेकी सुनारको एक मात्र छोरा अपाङ्ग भएकाले घर निर्माणमा समस्या भइरहेको भन्दै स्थानीय समाजसेवीको सिफारिसमा गाउँपालिकाले सहयोगका लागि पहल गरेको हो ।
मुख्यमन्त्रीका सेवा–सुविधाबाट प्राप्त हुने रकमलाई विपन्न नागरिकको घर निर्माणमा खर्च गर्ने घोषणा गरिसकेका बानियाँले यसै योजनाअन्तर्गत सुनारको घर बनाउन सहयोग गरेका हुन् भन्ने कुरा उनको सचिवालयले जनाएको छ ।
घर निर्माणका लागि गरिएको अनुरोधमा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, वडा अध्यक्ष राजकुमार श्रेष्ठ, समाजसेवी प्रकाश बर्तौला, उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धरसहितको रोहबरमा सोमबार मुख्यमन्त्रीले चेक हस्तान्तरण गरेका थिए ।
उक्त रकमबाट दुई कोठा, एक भान्छा र टायलट–बाथरुमसहितको घर निर्माण गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।








