अछाममा छाउपडी प्रथाका कारण त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ज्यान गएको छ।
पञ्चदेवल विनायक नगरपालिका–८ बरालाको सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बारेर बारीमा त्रिपाल टाँगेर बसेका बेला माथिबाट ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्। मृतक कविताकी आमा ३६ वर्षीया रत्नकला भण्डारी गम्भीर घाइते भएकी छिन्। उनको टाउकोमा चोट लागेकाले थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
‘महिनावारी भएको कारण महिलाहरू छोरीसहित बारीमा त्रिपाल टाँगेर बसेका रहेछन्। गाउँमा छाउगोठ नभए पनि त्रिपाल प्रयोग गर्ने प्रथा रहेछ,’ प्रहरी प्रमुख खनालले बताए, ‘यदि जबर्जस्ती यसरी बस्न बाध्य पारिएको भए कानुनी प्रक्रिया अघि बढाइनेछ।’
स्थानीय चुरकुली भन्ने स्थानमा गएराति त्रिपालमुनि सुतेका तिनै जनामाथि ढुंगा खसेपछि घटना भएको प्रहरीले जनाएको छ। अछाममा छाउगोठ भत्काइए पनि महिनावारी भएका महिला त्रिपालमुनि वा ओडारमा बस्न बाध्य हुने गरेको पाइन्छ। तथ्यांकअनुसार २०६३ सालयता अछाममा मात्र छाउगोठ वा त्रिपाल टाँगेर बसेका १९ जना महिला तथा किशोरीको ज्यान गइसकेको छ।








